अति लोपोन्मुख गिद्धको बासस्थलमा मानव सदरमुकाम
नवलपुर ।
विश्व बाटै अति लोपोन्मुखमा परेको पक्षी गिद्धको प्रिय वासस्थन बन्दै गरेको नवलपुरस्थित कावासेातीकेा ज्योतिकुञ्ज समुदायिक वन क्षेत्रमा नयाँ सहर बनाउने प्रयासमा सरकार लागि परेको पाइएको छ ।
संरक्षणकर्मीहरुको प्रयास तथा उपयुक्त वातावरणीय उपलब्धताले सन् २००५मा ७५ वटा मात्र गिद्ध पाइएकामा सन् २०२३मा आइपुग्दा यो संख्या ५७० पुगेको छ । तर यो वृद्धिलाई प्रत्यक्ष असर पुराउने, गिद्धवासस्थानको अनुकुलता विथोल्ने गरी सोही क्षेत्रमा ठूला सरकारी भवन निर्माणको टेण्डर समेत गरेको पाइएको छ।
गिद्ध संरक्षणकर्मी डिबी चौधरीका अनुसार पछिल्लो पटक जीपीस पद्धतिबाट अनुसन्धान गर्दा त्यहा अति लोपोन्मुख डङ्गर गिद्धले १९ वटा गुँडमा बच्चा कोरल्न लागिरहेका छन् ।
नेपालमा डङ्गर, डफोर, सुन गिद्ध, राज गिद्ध, साना खैरे, लामो ठुँडे, खैरो ठुँडे, सेतो गिद्ध र हिमाली गरी नौ प्रजातिका गिद्ध पाइन्छन् यी मध्ये डङ्गर, सानो खैरो, लामो ठुँडे र सुन गिद्ध अति लोपोन्मुख मानिन्छ ।
तर काबासोतीमा सदरमुकाम बनाउने भनेर ४ वटा एकिकृत भवन निर्माणको ठेक्का लागि सकेको छ । त्यहाँ ४ सय रुख काट्नु पर्नेछ । कटान टाँचा लगाउनु पर्ने रुखमै गिद्धका गुण रहेको पाइएको छ तर जिल्ला समन्वय समिति नवलपुर भने गुण भएका रुख जोगाएर अन्य रुख कटान गरी सदरमुकाम विकास गर्ने रणनीतिमा छ जुन अतिलोपोन्मुख पक्षी संरक्षणको मापदण्ड प्रतिकुल हुन जाने प्रकृति संरक्षण कर्मीले बताउँदै आएका छन् । “हामी गिद्धका गुण जोगाइ हाल्छौ,” जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले भने, “गिद्धका गुँड रहेका रुख संरक्षण गरी सदरमुकाम निर्माण गर्ने सहमति भएको छ ।”
अतिलोपोन्मुख अवस्थामा रहेको गिद्धको बासस्थान तथा प्रजनन स्थलका रुपमा विकसित हुँदै गरेको सो क्षेत्रमा मानव अतिक्रमण बढ्दा यसले गिद्धसंरक्षण प्रयासमा प्रतिकुल असर पार्ने संरक्षण विद्धको चिन्ता छ । नयाँ सहर विकासका लागि गरिएको प्रतिवेदनमा भने त्यहा ५ वटा सिमलका रुखमा मात्र गिद्धको गुड रहेको औल्याइएको थियो । अझ ती गुणमा जन्मिएका बचेरा हुर्केपछि रुख हटाउन मिल्ने समेत त्यसमा सुझाइएको छ । तर पछिलल्लो पटक जीपीएस अध्ययनले त्यहाँ १९ वटा रुखमा गुण फेला पर्दा पनि सदरमुकामको योजनामा कसैले समिक्षा गर्न चाहिरहेका छैनन् ।
गत साता अति संकटापन्न पर्ने यहि डङ्गर गिद्धले कञ्चनपुर क्षेत्रको शुक्लाफाँटा निकुञ्ज तथा त्यसको आसपासका क्षेत्रमा एक सय १४ गुँड लगाएको पाइएको थियो । सो क्षेत्रमा डङ्गर प्रजातिका गिद्धको निकुञ्जको भतपुरीफाँटामा ८२, तारापुरमा १७, निकुञ्ज बाहिरको बन्साहमा छ, पर्सियामा आठ कञ्जमा एकवटा गुँड लगाएको पाइएको थियो ।
प्रकृतिका कुचिकार मानिने गिद्ध संरक्षणमा प्रगति भइरहँदा नवलपुरमा भइरहेको सहरीकरणले भने पुन अतिक्रमणमा चपेटामा डङ्गर गिद्ध पर्ने देखिएको छ ।