कति छन् चलनचल्तीमा नेपाली नोट?
काठमाडौं:
तपाइको खल्तीमा कति रुपियाँ छ ? सायद क्युआरमार्फत भुक्तानी गर्नुहुन्छ अथवा एटीएम कार्ड पनि हुन्छ र त थोरै मात्रै नोट बोक्नु हुन्छ होला ।
तपाइसँग कति क्यास छ भने जस्तै मुलुकभर चलन चल्तीमा कति नोट छन् भन्ने बारे राष्ट नेपाल राष्ट्र बैंकले एक प्रतिवेदनमा उल्लेख गरेको छ ।
सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाइएको प्रतिवेदन अनुसार नेपाल भर गत आव मा रु ७३ अर्ब ९९ करोड ९० लाख बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोट चलनचल्तीका लागि निष्काशन गरिएको थियो । त्यसअघिका नोटसमेत गरी बैंकका अनुसार, २०८१ असार मसान्तसम्ममा कूल छ खर्ब ९० अर्ब १५ करोड रुपैयाँ बराबरका विभिन्न दरका नोटहरू चलन चल्तीमा छन् ।
ब्यक्ति सँग रहेका तथा विभिन्न बैंक तथा वित्तीय संस्था तथा केन्द्रिय बैंकको भल्टमा रहेका गरी सबै नोटको यो परिमाण हो । नष्टगर्नुपर्ने भनि छुट्याइएका नोटलाई यस गणनामा राखिएको हुँदैन । प्रतिवेदनअनुसार गत आवमा राष्ट्र बैंकले ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आय गरेको छ ।
केन्द्रीय बैंकले तय गरेको वार्षिक प्रतिवेदनमा विदेशी विनिमय तथा अन्य सम्पत्ती पुनःमूल्याङ्कन लाभरहानी समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो ।
गत कात्तिक २९ गते बैंकको सञ्चालक समितिको बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्याउनुपर्ने रकम विनियोजन गरी बाँकी बचत रकम रु ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार सरकारलाई उपलब्ध गराउने निर्णय गरेको राष्ट्र बैंकले जनाएको छ ।
विसं २०८१ असार मसान्तको वित्तीय अवस्थाको विवरणअनुसार यस बैंकको सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३० दशमलव १५ प्रतिशतले वृद्वि भई रु २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार कायम भएको प्रतिवेदनमा उल्लेख छ ।