विकास खर्च २९ प्रतिशतमा सिमित

काठमाडौँ
चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९ प्रतिशतमा खुम्चिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत ३० गतेसम्मको सरकारको पुँजीगत खर्च रु एक खर्ब दुई अर्ब ९० करोड बराबर मात्रै छ ।
पुँजीगत शीर्षकमा चालु आर्थिक वर्षका लागि सरकारले रु तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर विनियोजन गरेको थियो । वार्षिक विनियोजनको तुलनामा हालसम्मको पुँजीगत खर्च २९ दशमलव दुई प्रतिशत हो ।
विकास खर्च मात्र नभई यो अवधिको समग्र बजेट खर्च कमजोर देखिएको छ । वार्षिक विनियोजनको तुलनामा चैत मसान्तसम्ममा ५३ दशमलव ६७ प्रतिशत बराबर बजेट खर्च भएको हो । चालु आर्थिक वर्षका लागि सरकारले रु १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको बजेट ल्याएको थियो । चैत मसान्तसम्ममा रु नौ खर्ब ९८ अर्ब ५० करोड बराबर खर्च भएको छ ।
त्यस्तै, चालु शीर्षकमा रु ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन भएकामा ५९ दशमलव ४५ प्रतिशत अर्थात् रु छ खर्ब ७८ अर्ब छ करोड बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।