Back To Top

December 14, 2025

मधेशका अधिकांश पुल निर्माण अलपत्र

Global Ime Bank AD
Insourance

रौतहट : मधेश प्रदेशका रौतहट र सर्लाही जिल्लाका विभिन्न स्थानमा पुल समयमै निर्माण नहुँदा स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती भोग्न बाध्य भएका छन्। पुल निर्माणका लागि ठेक्का लागे पनि काम अघि बढ्न नसक्दा अधिकांश आयोजना अलपत्र अवस्थामा छन्।

रौतहट र सर्लाहीलाई जोड्ने बागमती नदीमा निर्माणाधीन दुईवटा पुल तोकिएको समयमा सम्पन्न हुन नसक्दा यात्रुहरू जोखिमपूर्ण र कष्टकर यात्रा गर्न बाध्य छन्। यी पुलहरूले सर्लाही र रौतहट मात्र नभई पर्सा र बारालाई समेत मधेश प्रदेशको राजधानी जनकपुरसँग जोड्ने महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। पुल नबन्दा जनजीवन प्रत्यक्ष रूपमा प्रभावित भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार साँझ पुलहरूको स्थलगत निरीक्षण गर्दै निर्माण प्रगतिबारे जानकारी लिएका छन् ।  निरीक्षणका क्रममा उनले पुल अभावका कारण स्थानीयले भोग्नुपरेका समस्याबारे छलफल गरे।

पुल नबन्दा आम नागरिकले दैनिक रूपमा भोगिरहेको दुःख देख्दा आफू अत्यन्तै पीडित भएको उल्लेख गर्दै मन्त्री घिसिङले पदमा रहेँ वा नरहेँ, यस्ता निर्माण कार्यमा निरन्तर खबरदारी गरिरहने प्रतिबद्धता व्यक्त गरे। स्थानीय बासिन्दाले पुल निर्माण कार्य तत्काल सम्पन्न गर्न आग्रह गरेका थिए।

रौतहटको दुर्गाभगती गाउँपालिका र सर्लाहीको रामनगर गाउँपालिका जोड्ने बागमती नदी (गंगा पिपरा) माथिको करिब ७ सय मिटर लामो पुल लामो समयदेखि अलपत्र अवस्थामा छ। पुल निर्माणका लागि असार २०७३ मा टुण्डी–रसुवा–पप्पु संयुक्त उपक्रम (जेभी) सँग करसहित ८६ करोड ३७ लाख रुपैयाँको ठेक्का सम्झौता भएको थियो।

पछिल्लो पटक थपिएको ठेक्का सम्झौता अनुसार पुल निर्माण १३ कात्तिक २०८३ भित्र सम्पन्न गर्नुपर्नेछ। गत वर्ष असोजमा आएको बागमती नदीको बाढीले पुलको एक स्पान र एक फाउन्डेसन बगाएको थियो। हाल पुलको भौतिक प्रगति करिब ८० प्रतिशत पुगेको छ।

त्यसैगरी हुलाकी राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती (बडरवा) मा ६३४ मिटर लामो पुल निर्माणका लागि सुरुमा जेठ २०६७ मा तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो। साढे १२ वर्ष बितिसक्दा पनि पुल निर्माण पूरा हुन सकेको छैन।

निर्माण व्यवसायीले काम अघि बढाउन नसकेपछि पुरानो ठेक्का तोडी वैशाख २०७९ मा ६५ करोड १६ लाख रुपैयाँमा नयाँ ठेक्का लगाइएको थियो। साढे दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि हालसम्म भौतिक प्रगति २० प्रतिशत मात्र छ। ठेक्काको म्याद चैत २०८३ सम्म थपिएको भए पनि निर्माण व्यवसायी अझै निर्माणस्थलमा सक्रिय देखिएको छैन।

यस्तै, रौतहटको चपुरबाट उत्तरतर्फ पर्ने गैंडाटार–चाँदी पुल पनि करिब १० वर्षदेखि निर्माण अलपत्र अवस्थामा छ। मकवानपुरको बकैया गाउँपालिकालाई जोड्दै धरान–चतरा–हेटौंडा सडक खण्डसँग समेत जोडिने यो पुल तीन पटक म्याद थपिँदा पनि अझै सम्पन्न हुन सकेको छैन।

पुल तत्काल निर्माणको माग गर्दै स्थानीयले अनशनलगायत विभिन्न विरोध कार्यक्रमसमेत गरेका थिए। उक्त पुल निर्माणको ठेक्का पप्पु–शिवशंकर संयुक्त उपक्रम (जेभी) ले पाएको थियो।

United long banner ad
Prev Post

नेपाल-भियतनाम आर्थिक सन्बन्ध बिस्तार बारे छलफल

Next Post

ठूला भारु नोट नेपालमा पनि चलाउने तयारी

post-bars

Leave a Comment