गभर्नर बन्न सिफारिस समितिबाट पौडेलले दिए राजिनामा

काठमाडौं ।
गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएका छन् । समितिका सदस्य पौडेललाई नेपाली कांग्रेसले गभर्नरको रुपमा अगाडि बढाउने भएपछि उनले सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका हुन् ।
उनले आइतबार समितिका संयोजक समेत रहेको उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल समक्ष राजीनामा दिएका हुन् । गत शुक्रबार नेपाली कांग्रेसको पदाधिकरी बैठकपछि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस एमालेका शीर्ष नेताको बैठक बसेको थियो । उक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले डा. गुणाकर भट्टको विकल्पमा पौडेलको नाम गभर्नरको रुपमा सिफारिस गरेका थिए ।
नेपाली कांग्रेसका महासमिति सदस्य पौडेल नेपाली कांग्रेसबाट चितवनको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यको उमेदवार बनेका थिए । उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत हुन् ।
यसअघि कांग्रेस सभापति देउवा र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आगामी गभर्नरको रुपमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई अघि बढाउने सहमति भएको समाचार आएको थियो । सोही अनुसार भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएपनि कायम मुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले स्वीकृत नगरेपछि कांग्रेसले गभर्नरको लागि नयाँ विकल्पको रुपमा पौडेलको नाम अघि सारेको हो ।
