१३ करोडको जुम्ली स्याउ सडकमै कुहिने त्रास

काठमाडौ ।
गएको तीन दिन देखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा ढुवानीको क्रममा रहेको स्याउ नष्ट हुने जोखीम बढेको छ । कालीकोटको शुभकालिका गाउँपालिकाको गगने खोलामा पहिरो खसेको पहिरो हटाउन नसक्दा पुरै राजमार्गको आवगमन अवरुद्ध भएको छ । यात्रुहरु तथा सवारीचालकहरु बाटोमै अलपत्र छन् ।
जुम्लाबाट भदौदेखि स्याउ निर्यात हुन थाल्छ । मूख्य सिजनकै बेला तीन दिन देखि रोकिएको बाट नखुलाउँदा स्याउ कुहिने चिन्तामा कृषक तथा व्यवसायी छन् ।
जुम्लाबाट सुर्खेत, नेपालगन्ज, काठमाडौंलगायत देशका विभिन्न ठाउँका लागि गुडेका मालवाहक ट्रक अहिले राजमार्गमै थन्किएका छन् । यसले यात्री र स्याउ व्यापारीले तीनदेखि सास्ती खेपिरहेका छन् । राजमार्ग खुलाउन पहल नभएको भन्दै यात्रुहरुले आक्रोस पोखेका छन् ।
जुम्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले पहिराका कारण स्याउ बोकेका २३ ट्रक बाटोमै रोकिएको बताए । उनका अनुसार १३ करोड रुपैयाँ बराबरको एक सय ८४ मेट्रिक टन स्याउ कुहिने डर छ ।
