Back To Top

October 4, 2025

सोमबारसम्म पदयात्रामा नजान आग्रह

Global Ime Bank AD

१७ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले आजदेखि आगामी सोमबारसम्म चार दिन उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताएको छ ।

यो समयमा भारी वर्षा हुने प्रक्षेपण गरिएकोले जिल्ला प्रशासन कार्यालय, कास्कीले नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले अन्नपूर्ण हिमाल, मर्दी हिमाल लगायतका क्षेत्रको पदयात्रामा नजान पदयात्री तथा पर्यटकलाई आग्रह गरेको छ ।

साथै कुनै विपद्जन्य घटना भएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाइ, सुरक्षा निकाय र स्थानीय प्रशासनमा सम्पर्क गर्न कास्की प्रशासनले अनुरोध गरेको छ ।

कास्की प्रशासन कार्यालयले गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य राजमार्ग र अन्य जोखिमयुक्त सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकाय तथा कार्यालयलाई अनुरोध गरेको छ ।

सम्भावित वर्षाका कारण बाढीपहिरा, डुबान, हिमपात आदि विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन सार्वजनिक सूचना जारी गरेको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशलगायत देशका विभिन्न भू–भागमा मध्यमदेखि र भारी वर्षाको चेतावनी दिएसँगै सो कार्यालयले यस किसिमको सूचना जारी गरेको हो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले नागरिकको जिउधनको सुरक्षालाई दृष्टिगत गरी आगामी सोमबारसम्म अति जरुरी काम नपरी टाढाको दुरीमा र रातिको समयमा यात्रा नगर्न तथा नदी एवं खोला आसपासका क्षेत्रमा रहँदा विशेष सावधानी अपनाउन सम्बद्ध सबैसँग अनुरोध गरिएको जानकारी दिए ।

यसैगरी आगामी सोमबारसम्म राजमार्ग तथा ग्रामीण सडकमा संयमतापूर्वक सवारीसाधन सञ्चालन गर्न र क्षमताभन्दा बढी यात्रु नचढाउन यातायात व्यवसायी एवं सवारी चालकको समेत कास्की प्रशासनले ध्यानाकर्षण गरेको छ ।

Global Ime Bank
Prev Post

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

Next Post

लामो दूरीका यातायात तीन दिनका लागि बन्द

post-bars

Leave a Comment