आर्थिक वृद्धिमा गिरावट र मुद्रास्फीतिको खतराः आईएमएफ

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको ट्यारिफले विश्वव्यापी आर्थिक वृद्धि कमजोर बनाउने र मुद्रास्फीति बढाउने चेतावनी दिएको छ ।
आईएमएफले विश्वव्यापी व्यापार युद्धले विश्वको आर्थिक वृद्धिमा गिरावट ल्याउने र मुद्रास्फीति दर वृद्धि गराउने चेतावनी दिएको छ।
आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जोर्जिएवाले हालै वासिङ्टन डीसीमा आयोजित एक कार्यक्रममा बोल्दै ट्यारिफ तथा अन्य व्यापारिक अवरोधहरूको कारण विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने बताइन्।
‘ट्यारिफ तथा गैर-ट्यारिफ अवरोधहरूले व्यापारको प्रवाहलाई मोड्ने गर्छ। यसले केही क्षेत्रमा अभाव र केही क्षेत्रमा अत्यधिक आपूर्ति हुने अवस्था ल्याउँछ। यस्तो असन्तुलनले आर्थिक लागत बढाउँछ,’ उनले भनिन ।
जोर्जिएवाले यद्यपि हाललाई विश्वव्यापी मन्दीको तत्काल खतरा नरहेको जनाएकी छिन्। तर व्यापारमा जारी तनाव र नीतिगत अनिश्चितताले लगानीमा गिरावट आउन सक्छ र दीर्घकालीन असर पुर्याउन सक्छ।
उनले प्रमुख अर्थतन्त्रहरूलाई खुलापन कायम राख्दै निष्पक्ष र सन्तुलित व्यापार प्रणालीतर्फ उन्मुख हुन आग्रह गरिन्। साथै, आर्थिक असमानता र विश्वव्यापीकरणबाट सबैले लाभ नपाएको यथार्थ स्वीकार गर्दै उनले यस संकटलाई अवसरमा रूपान्तरण गर्दै समावेशी र लचिलो अर्थतन्त्र निर्माण गर्नुपर्ने बताइन्।
आईएमएफले आगामी सातामा सार्वजनिक गर्ने नयाँ आर्थिक पूर्वानुमानमा व्यापार युद्धको असर स्पष्ट देखिने बताइएको छ।