विद्यूत पूर्वाधारमा अवरोध, आपूर्ति प्रणालीमा प्रभाव
काठमाडौं
विद्यूत प्रवाहका प्रशारण तथा वितरण सञ्जाल विस्तारकार्यलाई समयमै सम्पन्न गर्न नसक्दाको असर नेपालको विद्यूत आपूर्ति प्रणालीमा देखा परेको छ । विद्यूतको राष्ट्रिय सञ्जाल सन्तुलित रुपमा विकसित हुन नसक्दा एकतिर विद्यूत आयोजना बन्द गर्नुपर्ने र अर्कातिर विद्युत अभाव हुने अवस्था सृजना हुँदै गएको नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भयो ।
अहिले एक दुई दिन प्रणालीमा प्राविधिक गडवडी हुँदा देशको मध्य र पश्चिम क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आएको बताउनु भयो । “केही दिन प्रणालीमा गडबढी भएको सत्य हो,” उहाँले भन्नुभयो, “दिनमा ११ पल्टसम्म ट्रिपिङ भएको देखिन्छ फल्ट पत्ता लगाएर अहिले सुधार गरिसकेका छौं, प्रणाली नै गएपछि विद्युत् निर्यात पनि हुँदैन ।”
पत्रकार सम्मेलन गरेरै आइतबार घिसिङले विद्युत पुर्वाधार विस्तारमा सरोकारवालाको पर्याप्त सहयोग प्राप्त नभएको समेत गुनासो गर्नुभयो । “प्रसारण तथा वितरण प्रणाली सुधारका लागि देशैभरी काम भइरहेका छन् तर जताततै अवरोध हुँदा काम गर्न सकिएको छैन,” उहाँले भन्नुभयो, “भरपर्दो र गुणस्तरीय विद्युत् खोज्ने तर आफ्नो घर छेउमा ट्रान्सफर्मर राख्न नदिने प्रवृति छ। यस्तै अवस्था रहयो भने अर्को वर्षबाट विद्युत् व्यवस्थापन गर्न सकिंदैन।”
घिसिङले प्रसारणलाईन निमार्ण तथा वितरणमा बजेट व्यवस्थापनदेखि प्रक्रियामा हुने जटिलताको पनि खुलेर विरोध गर्नुभयो । “पूर्व पश्चिममा विद्युत आपूर्तिका लागि १३२ केभीको मात्र लाइन छ, १३२ केभीले त्यस क्षेत्रको मागलाई कसरी धान्ने ? इनरुवा–ढल्केबर–हेटौंडा ४०० केभी र हेटौंडा–भरतपुर–बर्दघाट–नयाँ बुटवल २२० केभी प्रसारण लाइन आयोजना स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, रुख कटान स्वीकृतिमा भएको ढिलाइलगायतका कारणले सम्पन्न गर्न नसक्दा विद्युत् प्रवाहमा समस्या छ ।”
कालीगण्डकी करिडोर र बर्दघाट–नयाँ बुटवल प्रसारण लाइनमा पर्ने रुख कटानका लागि मन्त्रिपरिषद्बाट निर्णय भएको ४÷५ वर्ष पूरा हुँदासमेत अहिलेसम्म कटान आदेश पाउन नसकिएको कार्यकारी निर्देशक घिसिङले बताउनु भयो । ‘मन्त्रिपरिषद्बाट निर्णय भएको ५ वर्षसम्म रुख कटानको आदेश पाउन सक्दैनौं, वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानका लागि रकम जग्मा गरिसकका छौं तर अहिलेसम्म सम्झौता हुन सकेको छैन, काममा कतैबाट सहयोग नहुने अनि प्राधिकरणले कसरी काम गर्न सक्छ ? त्यसैले वन, भूमिसुधारलगायतका निकायले सहयोग गरिदिनु पर्यो,” उहाँले भन्नुभयो । बजेटरी व्यवस्थापनमा समेत समस्या पर्न लागेको भनाई घिसिङको थियो । देशभित्र उत्पादित विद्युत् यहीं खपत गर्न र बचत भएको निर्यातका लागि प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचनामा लगानी बढाउन नसक्ने हो भने ठूलो डिजास्टर हुने बताउनुभयो । ‘लोडसेडिङ अन्त्य भयो, ऊर्जा क्षेत्रमा लगानी गर्नु पर्दैन भन्ने गरिन्छ,तर खपत बढाउन र विद्युत् निर्यातका लागि आगामी पाँच वर्षमा झण्डै ८ खर्ब रुपैयाँ लगानी आवश्यक पर्छ’ उहाँले थप्नुभयो । ‘प्राधिकरणले विगत वर्षहरुमा कमाएको नाफाबाट एक खर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ, यो लगानी नगरेको भए अहिले लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्थ्यो, प्राधिकरणलाई बजेट पनि नदिने तर उपभोक्ता विद्युत् महशुल पनि घटाउनु पर्ने, लगानी पनि गर्नु पर्ने, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पनि दिनु पर्ने यस्तो अवस्थामा कसरी लगानी गरेर आयोजना बनाउन सकिन्छ ?”
देशभित्र रोकेर निर्यात भएको होइन
प्राधिकरणले देशभित्र विद्युत् आपूर्ति कटौती गरी भारततर्फ निर्यात नगरेको प्रष्ट पारेको छ । केही दिन प्रणालीमा प्राविधिक गडबढी हुँदा देशको मध्य र पश्चिम क्षेत्रमा विद्युत् आपूर्तिमा केही समस्या भएकोमा अहिले समाधान भइसकेको उहाँले बताउनु भयो । “देशभित्र विद्युत् कटौती गरी निर्यात गरेको चर्चा हुने गरेको जुन सत्य हैन, देशभित्र उत्पादित विद्युत् यहाँ पुग्नेजति खपत गरी बढी भएको मात्र निर्यात गर्ने हो, खपत र निर्यात सँगसँगै जान्छ, खपत गरी बढी भएको विद्युत् निर्यातमार्फत बिक्री गरेनौं भने प्राधिकरणलाई करौंडौ रुपैयाँ घाटा हुन्छ,”कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।
प्रसारण तथा वितरण प्रणालीको क्षमताले नधान्दा विरगञ्ज औद्योगिक करिडोर र बाँकेको कोहलपुर क्षेत्रका उद्योगहरुमा साँझको पिक समयमा विद्युत आपूर्तिमा केही समस्या रहेको उल्लेख गर्दै घिसिङले तर विद्युत् कटौती गरेर निर्यात नगरिएको बताउनुभयो ।