रसुवागढी नाका आजदेखि सञ्चालनमा
काठमाडौ।
गत असार २४ गते लेन्देखोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्र भएसँगै नेपाल–चीन सीमावर्ती रसुवागढी नाका सञ्चालनमा आउने भएको छ ।
चिनियाँ पक्षले सार्वजनिक गरेको सूचनाअनुसार आजआइतबारदेखि नाका औपचारिक रुपमा खुला हुनेछ । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार सीमापार ढुवानीमा संलग्न नेपाली सवारी चालकहरु मात्र चीनतर्फ प्रवेश गर्न पाउने छन् ।
चीन प्रवेशका लागि निवेदन दिएका सवारी चालकलाई आइतबारदेखि अनुमति दिइने सूचना चिनियाँ पक्षबाट प्राप्त भएको छ । आगामी जनवरी १, २०२६ देखि भने एकतर्फी पालैपालो प्रणालीमा सवारी आवागमन सञ्चालन हुनेछ ।
पन्थीका अनुसार जनवरी १ देखि मालवाहक सवारी साधन र व्यापारीलाई पनि नाकाबाट आवागमनको अनुमति दिइनेछ । नाका खुले पनि तत्काल सबै प्रकारका सवारी साधन सञ्चालन हुने भने छैन ।
चिनियाँ पक्षले जारी गरेको सूचनामा सीमापार ढुवानीमा संलग्न यात्रुहरुलाई प्रवेश दिन सुरु गरिने उल्लेख छ । साथै, सबै विदेशी व्यापारिक प्रतिष्ठानहरुले समयमै सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने र नेपाल चालक तथा कर्मचारीहरुले प्रवेशअघि नै आवश्यक तयारी, सवारी साधन लोड तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने जनाइएको छ ।
आगमी जनवरी १ देखि भन्सार कार्यालयले भित्रिने र बाहिरिने सवारी साधनको निरीक्षणपछि मात्र आवागमनको अनुमति दिनेछ । यस अविधिमा एकतर्फी पालैपालो आवागमन प्रणाली कडाइका साथ लागू गरिने चिनियाँ पक्षको भनाइ छ ।