‘बजेट विनियोजन कौशलतामा सचेत’

काठमाडौं ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन कौशलतामाथि सचेत भएर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याइएको बताएका छन् ।
अर्थ मन्त्रालयमा आयोजित ‘पोस्ट बजेट’ छलफलमा विगतमा आलोचित बनेका विषयलाई बजेटले सच्याएको बताए । आयोजनामा ३ करोडको मापदण्ड निर्धारण गरेर त्यसमा अडिग बसेको उनको दाबी छ ।
विकासमा असीमित आकांक्षा, सीमित स्रोतबीच, यो सीमामा रहनु चुनौतीपूर्ण रहेको उनको भनाइ छ । मितव्ययिता कायम राख्दै चालु खर्च सन्तुलनमा राख्ने प्रयास सरकारले गरेको उनले बताए ।
बजेट कार्यान्वयनका लागि आर्थिक वर्षको सुरुसम्म नै कुर्नु नपर्ने गरी व्यवस्था गरिएको उनले बताए । आयोजना तयारीको काम आजै खरिद प्रक्रियामा जान सकिने व्यवस्था गरिएको समेत उनले बताए ।
संघीय ढाँचामा सन्तुलिन बजेट बनाउन सकुन् भन्नेमा ध्यान दिइएको उनले बताए । वन क्षेत्रका जटिलता हटाउने प्रयास गरिएको समेत उनको दाबी छ । सामाजिक सुरक्षा खर्च थप व्यवस्थित गरिएको र पछाडि परेको समुदायलाई प्राथमिकता दिइएको बताए ।
भन्सार बिन्दुमा अग्रिम आयकर हटाइएको भन्दै उनले कर हट्दा र रहँदा राजस्वमा पर्ने प्रभावबारे विश्लेषण गरेर हटाइएको बताए । अबको ध्यान कार्यान्वयनमा जाने उनको भनाइ छ ।
यो बजेट कार्यान्वयनबाट आर्थिक गतिविधि विस्तार, निजी लगानी बढ्ने, रोजगारी बढ्ने, आयोजना समयमै सकिने, ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सकिने उनको दाबी छ ।
