Back To Top

August 12, 2025

जलवायुजन्य जोखीम न्यूनीकरण गर्न अन्तरदेशीय सहकार्य आवश्यक

Global Ime Bank AD

काठमाडौँ । हिम जलाधार क्षेत्रमा बढ्दो जोखिम र सम्भावित क्षतिका घटना न्यूनीकरण गर्न अन्तरदेशीय सहकार्य आवश्यक रहेको विज्ञहरूले औँल्याएका छन् ।

जलवायु संकटले निम्त्याउने जोखिम र हानी घटाउन सीमापार पूर्व सूचना सम्प्रेषण प्रणाली अपरिहार्य रहेको उनीहरूको जोड छ । सोमबार नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको ‘बढ्दो जलवायु संकट  र समाधानका उपाय  विषयक अन्तरक्रियाका वक्ताले यस्तो खाँचो औल्याएका हुन् ।

अन्तरदेशीय सूचना सम्प्रेषण अभाव र अन्तरनिकाय समन्वय नहुँदा जलवायुजन्य प्रकोपले जनधनको क्षति बढाइरहेको उनीहरूको तर्क छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का जलवायु र वातावरण विभाग प्रमुख डा. चाङ् छ्याङकोङले जलवायुजन्य घटना सम्बोधन गर्न स्रोत साधन सम्पन्न अध्ययन अनुसन्धान जरूरी रहेको बताए ।

विकसित देशहरूले अल्पविकसित देशहरूलाई प्रविधि र ज्ञान हस्तान्तरण गरेमा पर्वतीय देशहरूले लाभ प्राप्त गर्ने उनको भनाइ थियो । चाङ्ले भने, ‘यसका लागि विज्ञान कूटनीति अपरिहार्य छ । फर्माफ्रस्ट, हिमपहिरो जस्ता विपद्का घटनामा हिन्दुकुश क्षेत्रको क्षमता अभिवृद्धि गर्न विदेशीविज्ञ झिकाएर प्रशिक्षण चलाउने तयारीमा छौँ ।’

बहुप्रकोपका घटना बढिरहँदा नेपाल एक्लैले समस्या समाधान गर्न नसक्ने भएकाले अन्तरदेशीय सहकार्य अपरिहार्य रहेको जलवायुविज्ञ डा. धर्म उप्रेतीले बताए । भारत र चीनमा भइरहेका जलवायुजन्य घटना नेपालका लागि सिकाइ हुनसक्ने बताउँदै उनले भने, ‘हिमाली क्षेत्रमा तापक्रम वृद्धिले क्षतिका घटना बढेर जाने खतरा बढेको छ । जलवायु कूटनीतिका माध्यमबाट अन्तरदेशीय सहकार्य बढाउनुपर्छ ।’

जलवायुजन्य विपद्ले एक अर्को देशमा सँगै क्षति पु¥याउने भएकाले पूर्व सूचना प्रणालीले जीवन बचाउन सकिने बताउँदै उप्रेतीले यस्ता कुरा नीति र योजनामा सीमित नगरेर कार्यान्वयनमा जानुपर्ने धारणा राखे । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप) ले सुनिश्चित गरेको ‘लस एण्ड ड्यामेज फण्ड’बाट लिने राहतका लागि जलवायु जोखिम प्रभावित देशहरूले साझा पहल गर्नुपर्ने उनको सुझाव छ ।

हिमबाढी अध्येता श्रीकमल द्विवेदीले जलवायु जोखिमका घटना न्यूनीकरण गर्न नेपालले आफ्नो क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिँदै हिमबाढी हिमताल फुटेर मात्रै नहुने भएकाले यसतर्फको अध्ययन बढाउनुपर्ने खाँचो औल्याए । ‘ठूला हिमताल मात्रै होइन स–साना तालले पनि जुनसुकै बेला जोखिम निम्त्याउन सक्ने भएकाले सचेत हुनुपर्छ’, उनले भने, ‘२०/२५ वर्ष अगाडि बनेका हिमतालले झन ठूलो जोखिम बढाइरहेका छन् ।’

Global Ime Bank
Prev Post

महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ

Next Post

नबिल बैंकको नाफा १५ प्रतिशतले वृद्धि,

post-bars

Leave a Comment