Back To Top

August 14, 2024

जनतालाई मालिक बनाउन आईएमईको सेयर आउँछ

Global Ime Bank

चन्द्रप्रसाद ढकाल

आइएमई र जीएमई रेमिटको मर्जरपछि आजदेखि एकीकृत कारोबार शुभारम्भ हुन गइरहेको छ । आजको यस विशेष क्षणमा आइएमईको सुरुवाती अवस्थाको केही स्मरण गर्न चाहन्छु । सन् २००१ अर्थात आजभन्दा करिब २५ वर्ष पहिले मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आइएमई अर्थात् इन्टरनेशनल मनी एक्सप्रेसको यात्रा त्यो समय पक्कै पनि सहज थिएन । सहज त के निजी क्षेत्रले पनि यसरी औपचारिक रूपमा विदेशबाट रकम भित्र्याउने कुराको कल्पना नै थिएन । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि केही देशहरू खुल्ला गरिसकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या भर्खरै बढ्न सुरु गरेको थियो ।

जापान बस्दा हामी आफैँले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरूले आफ्नै कमाइ आफन्तसम्म पुर्‍याउन झेलिरहेका समस्याहरू देखेका हामीहरुले छिटो, भरपर्दो माध्यम खोजी गर्दै गर्दा आइएमईको जन्म हुन पुगेको हो । नेपालको त्यही अगुवाई रेमिटेन्स कम्पनी, आइएमई अहिले नेपाल र नेपाली रहेको विश्वका कुना–कुनाका जो कोहीको पहिलो रोजाइ बन्न पुगेको छ । त्यतिमात्र होइन आइएमई भनेको अहिले पैसा पठाउने कामकै पर्याय बनेको छ । पैसा पठाउने भनेको आइएमइ गर्ने हो भन्ने पर्याय बन्न सफल भएको छ । हाम्रा लागि योभन्दा अर्को खुसीको कुरा अर्को के होला ?

हामीले आइएमई सुरु गर्दा निजी क्षेत्रबाट रेमिट्यान्स सेवा दिने विषय सहज थिएन । डलर कारोबारको अनुमति सहज थिएन । सानो पुँजी, धेरै किसिमका अवरोध, अनौपचारिक रूपमा रेमिट्यान्सको कारोबारको प्रभाव र अन्य धेरै समस्याबीच हाम्रो व्यवसायले गति लिन सुरु गर्‍यो । निःस्वार्थ भावनाले गरिएको मिहिनेतले अवश्य पनि सही परिणाम दिने र सफलता मिल्ने कुरा हामीलाई सुरुवातका केही वर्षमै आइएमईले पुष्टि गरिसकेको थियो ।

मैले यसअघि पनि भन्ने गरेको छु कि हामीले व्यवसाय सुरु गर्ने मुख्य ३ वटा सुत्र छन् । पहिलो हो, राज्यको प्राथमिकतामा रहेको व्यवसाय । दोस्रो आम जनतालाई सेवा दिन सकिने र बढीभन्दा बढी जनता लाभान्वित हुन सक्ने व्यवसाय तथा तेस्रो यस्तो व्यवसाय हो जुन आर्थिक रूपले पनि व्यवसाय बन्न सम्भव हुन्छ अर्थात् फिजिबल छ । त्यस्तो व्यवसाय सधैँ सफल हुन्छ भन्ने हाम्रो विश्वास हो जुन आजका दिनसम्म पनि कायम छ भन्ने मलाई लाग्दछ । यही विश्वास र यही सुत्रले आज हामीलाई अहिलेको अवस्थामा पुर्‍याएको छ भन्ने हामीलाई लाग्दछ । हाम्रो यो आत्मविश्वासमा हामीलाई माया र सद्भाव दर्शाउनुहुने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूको विश्वासको निकै ठूलो महत्व छ ।

एक करोड चुक्ता पुँजीको आइएमईले अहिले एक अर्बभन्दा बढीको कम्पनी भएको छ । यस ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी विस्तार गरेको छ । रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा सुरुगरेको आइएमईले अहिले आफ्नो लगानी सेवामुलक, उत्पादनमुलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको छ । आइएमई ग्रुपअन्तर्गत रेमिट, बैंक तथा वित्तीय संस्थाहरू, केबुलकार, होटल तथा रिसोर्ट, जलविद्युत, अटोमोबाइल, बीमा, शिक्षा, स्वाथ्य, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनीहरू सक्रिय छन् ।

आइएमई सुरुवातको समय करिब २० प्रतिशत मात्र औपचारिक रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । यसमा नेपालको पहिलो रेमिट्यान्स कम्पनीको रूपमा आइएमईको योगदान अवश्य धेरै नै छ । नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा पनि हाम्रा बैंक तथा वित्तीय संस्थाको रहेको छ । हामीले आइएमई सुरु गर्दा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेका थियौँ । अहिले यो २०० मिलियन डलरभन्दा बढी पुगेको छ ।

हामीलाई यहाँसम्म पुग्न निरन्तररूपमा यहाँहरूको साथ सहयोग रह्यो । यसका लागि हामी यहाँहरू सबैप्रति कृतज्ञ छौँ । निजी क्षेत्रलाई रेमिट्यान्स व्यवसायमा सहजीकरण, गाइडेन्स, सहयोग र अनुमति प्रदान गर्न सहयोग गर्ने नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर दीपेन्द्र पुरुष ढकाल, डा. तिलक रावल, विजयनाथ भट्टराई, कृष्णबहादुर मानन्धर, डा. युवराज खतिवडा, दीपेन्द्र बहादुर क्षेत्री, डा. चिरञ्जिवी नेपाल, वर्तमान सञ्चालक रवीन्द्र पाण्डेलगायत धेरै व्यक्तिहरूलाई म स्मरण गर्न चाहन्छु । तत्कालीन समयमा रेमिट्यान्स कम्पनी स्थापनाको कुरा अगाडि बढाउन यहाँहरूको भूमिका महत्वपूर्ण रह्यो ।

त्यसैगरी, थाइल्यान्डका लागि तत्कालीन नेपाली राजदूत जनक बहादुर सिंह, पूर्वराजदूत दीपक धिताल, तत्कालीन डीसीएम नारायण मैनाली, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, अर्थ मन्त्रालय सबैको सकारात्मक सहयोग रहेको छ । त्यसैगरी, मलेशियाको केन्द्रीय बैंक, बैंक निगारा र त्यसका गभर्नर डा. जेटी र उहाँको टिमलाई विशेष धन्यवाद दिन चाहन्छु । हामी नेपाल राष्ट्र बैंकका साथै मलेशियाको केन्द्रीय बैंकमा पनि यसरी रेमिट्यान्स कारोबारको अनुमति पाउने पहिलो संस्था थियौँ । अझ, मलेशियाको केन्द्रीय बैंकले त हामीलाई अनुमति दिएसँगै ५ वर्षसम्म कुनै पनि रेमिट कम्पनीलाई अनुमति दिएको थिएन । हामीलाई सुरुवाती दिनमा सहयोग गर्ने मलेशियाका एस सी भ्याटबिलोलाई विशेष सम्झन चाहन्छु ।

अहिले आइएमईसँग जोडिएका २० हजार बढी कर्मचारीहरू हुनुहन्छ । लाखौँ सेवाग्राही हुनुहुन्छ । हामीले आइएमईलाई चाडै नै पब्लिकमा लैजाँदैछौ । जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो ।

नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले समय समयमा ल्याउने नीति नियमहरूको पूर्ण पालना गर्दै हामी अगाडि बढ्ने गरेका छौँ । अझ भन्नुपर्दा हामी त्यस्तो नीति कार्यान्वयन गर्ने पहिलो संस्था बन्ने गरेका छौँ । राष्ट्र बैंकले बैंकको पुँजी बढाउन मर्जरको नीति ल्याउदा होस् वा बिग मर्जरको नीति ल्याउदा होस् । यी नीतिहरूको कार्यान्वयनमा हामी सदैव पहिलो पंक्तिमै उभिने गरेका छौँ । यस हिसाबले भन्दा हामी कार्यान्वयनकर्ता नै हौँ । त्यसको फलस्वरूप विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरूको संगमसहित नेपालकै सबै भन्दा ठूलो वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक बनेको छ । अहिले राष्ट्र बैंकले रेमिट कम्पनीको मर्जरको नीति लिएको छ । त्यस नीतिको पनि हामी पहिलो कार्यान्वयनकर्ता बनेका छौँ ।

हामीले रेमिट्यान्स सेवालाई थप परिष्कृत र सहज बनाउन आज दुईवटा रेमिट कम्पनीबीच मर्जर सम्पन्न गरेर एकीकृत कारोबार शुभारम्भ हुँदैछ । हामीलाई विश्वास छ आगामि दिनमा हाम्रो सेवा थप सहज र सुरक्षित बनाउँदै जानेछ ।

रेमिट्यान्सको आकार बढेको छ । डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भइसकेको छ । यसले गर्दा रेमिट्यान्स कम्पनीको क्षेत्राधिकारका बारे पनि सोच्नुपर्ने बेला आएको महसुस हामीले गरेका छौं । यसमा नेपाल राष्ट्र बैंकलले पनि पक्कै केही गर्नेछ । साथै, आजकै दिनदेखि मैले यस आइएमई लिमिटेडको सञ्चालक समितिको जिम्मेवारीबाट बिदा लिने पनि जानकारी गराउन चाहन्छु । यस संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै बाहिरबाट पनि यस संस्थालाई आवश्यक पर्ने सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

(आएमई र जीएम रेमिटको एकीकृत कारोबारमा अध्यक्ष ढकालले राखेको विचार) 

Prev Post

सिँचाइका लागि एडीबीसँग १४ अर्ब ६३ करोड ऋण लिइने

Next Post

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

post-bars

Leave a Comment