अनररी कन्सुलर कर्पस नेपालको डिनमा चन्द्र ढकाल
नेपालमा कार्यरत अवैतनिक वाणिज्यदुतहरुको संस्था अनररी कन्लुलर कर्पस नेपाल (एचसीसीएन) साधारण सभाले एचसीसीएनको डिनमा चन्द्रप्रसाद ढकाल र भाइस डिनमा भोलाविक्रम थापालाई चयन गरेको छ ।
मंगलबार १७औँ वार्षिक साधारण सभा तथा चार्टर डेका अवसरमा उनलाई डिन चयन गरिएको हो ल ६२ सदस्य रहेको यो संस्थाले हरेक वर्ष नयाँ नेतृत्व चयन गर्दै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री आरजु राणा देउवाले एचसीसीएनले विश्वका राष्ट्रसँग कुटनीतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन। आर्थिक कुटनीतिको माध्यमबाट नेपालमा लगानी अभिवृद्धि गर्न सकिने तथा यसका लागि देशले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने उनको भनाइ थियो ।
आफ्नो स्वागत मन्तव्यमा एचसीसीएनका निवर्तमान डिन विष्णुकुमार अग्रवालले अवैतनिक वाणिज्यदुतहरुले लगानी भित्र्याउने, पर्यटनको प्रवर्धन गर्ने लगायत द्धिपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान दिदै आएको बताए।
नेपाली विधार्थीलाई विदेशमा अध्ययन गर्न छात्रवृत्ति देखि विदेशी राष्ट्रबाट मानवीय तथा विकास परियोजना भित्र्याउन समेत वाणिज्यदुतहरुले भूमिका खेलेको उनको भनाइ थियो ।
एचसीसीएनका नवनियुक्त डिन ढकालले एचसीसीएनले आर्थिक तथा सास्कृतिक रुपमा नेपाललाई विश्व समुदायसँग जोड्दै आएको बताए । उनले परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा आर्थिक कुटनीति मार्फत नयाँ अवसरलाई आत्मसाथ गर्न एचसीसीएन सधै तयार रहेको बताए । नेपाल सरकारले वैदेशिक लगानी भित्र्याउने विषयसँग सम्वद्ध यसअघिका कानुन तथा नीतिहरुलाई सुधार गरेर लगानी मैत्री पारेको चर्चा गर्दै ढकालले एचसीसीएनले लगानी भित्र्याउन र देशको आर्थिक समृद्धिका लागि योगदान गर्ने बताए ।