काठमाडौं ।
ज्योति विकास बैंकका कर्मचारीलाई मोसो दल्ने दुई जनालाई प्रहरीले पक्राउन गरेको छ । बैंकका दुई कर्मचारीलाई मोसो दल्ने, जुत्ताको माला लगाउने, कुटपिट तथा अभद्र व्यवहार गर्ने थप ४ जनालाई प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बैंकका कर्मचारीले दिएको जाहेरीको आधारमा दुईजनालाई आज पक्राउ गरिएको हो । पक्राउ परेका दुई जनालाई जिल्ला अदालत सप्तरीबाट थप अनुसन्धानको लागि ५ दिनको म्याद थप गरिएको छ । यसैगरी, फरार रहेका ४ जनालाई अदालतबाट पक्राउ पुर्जी लिएको प्रहरी जनाएको छ । पक्राउ पर्नेमा उमाकान्त चौधरी र सन्जिप चौधरी रहेका छन् । सप्तकोसी नगरपालिका–७ ओद्राहास्थित सप्तकोसी इन्ट्रिग्रेटेड एग्रो फार्म प्रालिले लिएको ऋणको विषयमा बुझ्न पुगेका बैंकका कर्मचारीमाथि बुधवार दुर्व्यवहार भएको थियो। उक्त फर्मले साढे ४ करोड रुपैयाँ ऋण लिएको थियो ।
ज्योति विकास बैंकका कर्मचारीलाई दुव्यवहार गरिएपछि डेभलपमेन्ट बैकर्स एसोसिएसन नेपाल (डिबान)ले विज्ञप्ति जारी गरी घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको थियो । डिबानलाई नेपाल बैकर्स संघ, नेपाल फाइनान्स एसोसिएसन र नेपाल माइक्रोफान्स बैकर्स एसोसिएसनले समेत ऐक्यबद्धता जनाएको थिए ।