बाघ गणना पुसदेखि, चैतमा गैँडा
काठमाडौ ।
आगामी पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो ।
बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो ।
यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाका लागि बजेट विनियोजन गरेको छ । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो ।
एकसिङ्गे गैँडा गणना चैत महिनामा गर्ने जनाइएको छ । गैँडा गणना गर्न तीन साता लाग्छ । निर्वाचन हुने भएकाले गैँडा गणनाका विषय भने अन्योल छ ।
गैँडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिनेछ ।
बाघ गणनाका लागि चालु आर्थिक वर्षमा विभागले १८ लाख विनियोजन गरेको छ । यसका लागि एक करोड ५० लाखभन्दा बढी खर्च हुने गर्दछ । गैँडा गणनाका लागि पनि विभागले १८ लाख नै विनियोजन गरेको छ । गैँडा गणना गर्न दुई करोड बढी खर्च लाग्ने गर्दछ । बाँकी रकमका लागि दाताहरुसँग सहयोग मागिने छ ।
यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो ।
बाघको गणना हात्तीमाथि चढेर प्रत्यक्ष अवलोकन गरी गर्ने गरिएको छ । यस पटक फरक विधि प्रयोग गर्ने विषयमा विभागले छलफल गरेको छ।
नेपालमा सन् २००९, सन् २०१३, सन् २०१८ पनि बाघ गणना गरिएको थियो । सन् २००९ को गणनामा देशैभर १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा २३५ बाघ भेटिएका थिए ।