मंगलबारसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले मंगलबारसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएकाे छ। आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेकोेले देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म जारी रहने भएको हो ।
साथै बङ्गालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव छ । आइतबार बागमती प्रदेशका चितवन, काठमाडौं, ललितपुर लगायतका केही जिल्लाहरुमा असिनासमेत परेको थियाे ।
सोमबार र मंगलबार पनि कोशी, मधेश र बागमती प्रदेशमा हल्का वर्षा हुने र हिमाली भेगमा भने हल्का हिमपातको सम्भावना छ । मेघगर्जन र चट्याङ पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदहरुले सुझाव दिएका छन् ।
