आजदेखि मौसममा क्रमिक सुधार हुने
काठमाडौं ।
बंगालको खाडीमा विकसित भई भारतको छत्तीसगढ आसपासमा केन्द्रित चक्रवात ‘मोन्था’को प्रभाव कम हुँदै गएपछि नेपालमा आजदेखि मौसममा क्रमिक सुधार हुने देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा र मधेश, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी, कोशी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार भारततर्फ केन्द्रित चक्रवात ‘मोन्था’को प्रभाव आज रातिदेखि क्रमशः कमजोर हुँदै जाने र त्यसको असर कम भएसँगै मौसममा सुधार आउनेछ । साथै, नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहँदै आएको विभागले जनाएको छ ।