जलस्रोत क्षेत्रले व्यहोर्यो यस्तो क्षति
काठमाडौ ।
शुक्रवार र शनिबारको भीषण वाढीका कारण देशभर ऊर्जा तथा सिँचाइ क्षेत्रमा करिव ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको क्षति भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विवरण अनुसार ऊर्जा तर्फ ३ अर्ब र सिँचाइ तर्फ १ अर्व ३५ करोडको क्षति भएको छ । क्षतिको विवरण संकलन भइरहेकाले यो परिमाण अझै बढ्नेमन्त्रालयले जनाएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले कुल ६२५ मेगावाट जडित क्षमताका ११ वटा सचालनमा रहेका जलविद्युत् आयोजना र १५ निर्माणाधीन आयोजनामा क्षति भएको बताए । त्यस्तै आपतकालीन अवस्थाका कारण आयोजना बन्द गर्नुपर्दा करिव ११ सय मेगावाट विद्युत् उत्पादन बन्द गर्नुपरेको थियो ।
प्रशारणलाइन तर्पm काबेली करिडोर अन्तरगतको दमक गोदक १३२ केभि, खिम्ती लामो साँघु १३२ केभि र सोलु करिडोर प्रशारणलाईनमा क्षति पुगेको उल्लख छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका ४ वटा टावरमा क्षति पुर्याएको छ ।
बाढीले प्रसारण लाइनमा क्षति पुर्याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरुको करिब १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । टावर ढल्नुभन्दा अगाडि उक्त लाइनबाट दैनिक रुपमा १८०–१८५ मेगावाटसम्म विद्युत् प्रवाह भइरहेको थियो ।
काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०,५१,५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुर्याएको छ । उक्त स्थानबाट प्रसारण लाइनलाई माई नदी पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ ।
त्यस्तै वितरणलाइन पनि सातै प्रदेशमा पोल ढलेका तथा ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ । नदी नियन्त्रणका लागि बनाइएका विभिन्न बाँघ तथा स्परहरु भत्केका छन् । मन्त्रालयका अनुसार पुर्वी नेपालका मेचि, कोसी खाँडो रातो कमला, लालबकैया लगायतका नदी नियन्त्रण पूर्वाधारहरु बगेका छन् ।
त्यस्तै नारायणी, मस्र्याङ्दी, तिनाउ, पश्चिम राप्ती र कणार्ली नदीमा पनि उल्लेख्य क्षति पुगेको जनाइएको छ । सिँचाईका लागि निर्मित बाँध तथा नहरहरुमा पनि देशैभर क्षति पुगेको उल्लेख छ । विवरण अनुसार सुनसरी मोरङ सिँचाइ आयोजना, बागमति सिँचाइ आयोजना, कोशी पम्प चन्द्र नहर, कमला सिँचाइ व्यवस्थापन आयोजना, महाकाली सिँचाइ आयोजनाका बाँघ तथा नहरहरुमा क्षति पुगेको छन् । निर्माणाधीन सुनकोशी मरिण डाइभर्सनको कफर ड्याम बगेको मन्त्रालयले जनाएको छ ।