सप्ताहव्यापी गिद्ध सचेतना दिवस मनाइँदै

देशभर सप्ताहव्यापी १७औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
नेपाल पक्षी संरक्षण संघ (बीसीएन) को अगुवाइमा विभिन्न संरक्षण साझेदार संघसंस्थाको सहकार्यमा १६ देखि २२ भदौसम्म यस दिवसलाई सप्ताहव्यापी रूपमा मनाइँदै छ । यस अवसरमा लोपोन्मुख गिद्ध संरक्षणका लागि जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने छन् ।
बीसीएनका चराविज्ञ हिरूलाल डगौराका अनुसार यस वर्ष सुदूरपश्चिम प्रदेशमा कैलालीको घोडाघोडी सामुदायिक वन समन्वय समिति, धनगढीको वन विज्ञान अध्ययन संस्थान, कञ्चनपुर पक्षी संरक्षण संघ बेलौरी र शुक्लाफाँटा नेचरगाइड एसोसिएसनको सहकार्यमा विभिन्न संरक्षण शिक्षासम्बन्धी कार्यक्रम आयोजना गर्न लागिएको छ ।
यस्तै, ६ सेप्टेम्बरसम्म स्थानीय स्वयंसेवकहरुको सहयोगमा सुदूरपश्चिम प्रदेशभर गिद्ध गणना कार्य सञ्चालन हुने उनले जानकारी दिए । सुदूरपश्चिममा हाल नौ प्रजातिका गिद्ध पाइन्छन् भने कञ्चनपुरमा आठ प्रजाति गिद्ध रहेका उनले बताए ।
किसानले जनावर बचाउन सिनोमा विषादी प्रयोग गर्ने, ठूला रुख फँडानी, विद्युत् तारमा ठोक्किने, तथा आधुनिक कृषि उपकरणको प्रयोगका कारण पशुपालनमा कमी आउनुले गिद्धको आहारा घटेको छ । साथै, प्राकृतिक प्रकोप, डढेलो, पहिरो, आँधीबेहरी आदिले गिद्धको बाँसस्थान नष्ट भइरहेको तथ्यांकले देखाएको छ ।
