भन्सार नाका निगरानीका लागि परिपत्र
काठमाडौँ
प्रतिनिधि सभा निर्वाचनको मिति नजिक आउँदै गर्दा सीमाक्षेत्रमा अवैध व्यापार बढ्न सक्ने सम्भावनालाई ध्यान गर्दै भन्सार विभागले सबै भन्सार कार्यालयलाई परिपत्र गरेको छ ।
निर्वाचनका बेला सुरक्षा निकाय चुनावमा नै केन्द्रित हुनुपर्ने हुँदा अवैध व्यापार बढ्ने सम्भावना हुन्छ । आगामी २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा पनि खुला सीमानाका कारण छिमेकी मुलुक भारत र चीनबाट त्यस्तो व्यापारको सम्भावना रहेकाले भन्सार विभागले सावधानी अपनाएको हो ।
भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी किशोर बर्तौलाले देशभरका ४३ भन्सार कार्यालयका प्रमुखलाई नियमन गर्न निर्देशन दिइएको जानकारी दिए ।
चुनावले बजारमा उपभोग्य वस्तुको खपत बढ्ने हुँदा व्यवसायीले सीमानाकामा गएर सामान आयात गर्ने गर्छन् । बढ्दा सीमानाकाबाट बढी चोरीतस्करी पनि बढ्ने हुन्छ ।
निर्वाचनमा आवश्यक पर्ने सामग्री बढी खरिद हुने, खाद्यान्नको उपभोग बढ्ने हुँदा त्यसले गर्दा पनि अवैध व्यापार बढ्ने गर्छ । भन्सार विभागका सूचना अधिकारी बर्तौलाले निर्वाचनमा सुरक्षा निकायका कर्मचारी खटिएकाले सीमामा अवैध व्यापार बढ्ने सम्भावनाका आधारमा विभागले परिपत्र जारी गरेको जानकारी दिए ।
अवैध व्यापार बढेर राजस्व छली हुने हुँदा नियमन गर्न राजस्व अनुसन्धान विभागलाई समेत पत्राचार गरिएको हो ।