यूएसएआईडीका २ हजार कर्मचारी हटाइने

एजेन्सी । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी) का करिब २ हजार कर्मचारी रोजगारीबाट हटाइने भएका छन् । बाँकी पूर्णकालीन कर्मचारीहरूलाई प्रशासकीय बिदामा राखिने भएको छ । यसबारे कर्मचारीलाई इमेलमार्फत् जानकारी दिइएको सीएनएनले जनाएको छ ।
‘यूएसएआईडीका सबै प्रत्यक्ष नियुक्त कर्मचारीहरू, केही अति महत्वपूर्ण कार्य, प्रमुख नेतृत्व वा विशेष रूपमा तोकिएका कार्यक्रमहरूमा संलग्न कर्मचारीहरू बाहेक विश्वभर प्रशासकीय बिदामा रहनेछन्,’ इमेलमा लेखिएको छ । यो प्रशासकीय बिदा आइतबार रातिदेखि लागू हुनेछ ।
‘यूएसएआईडी अब अमेरिकाभित्र कार्यरत करिब २ हजार कर्मचारीलाई प्रभावित गर्ने ‘रिडक्सन-इन-फोर्स’ (कर्मचारी कटौती) प्रक्रिया सुरु गर्दैछ,’ इमेलमा भनिएको छ ।