महेन्द्र र बीपी राजमार्ग अवरुद्ध

काठमाडौ
। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारास्थित गिरुबारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गए राति पुल भाँचिएको हो । पुल भाँचिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनकराज बञ्जराले बताए ।
सामान बोकेको ट्रक पुल पार गर्ने क्रममा भाँचिएको हो । ट्रक पार गर्ने क्रममा ट्रक रहेको स्थानमा केही तल पुल दबिएको छ । साथै पुलको छेउछाउमा समेत चर्किएको छ । ट्रक हटाएपछि मात्र पुल माथिबाट सवारी सञ्चालन गर्न सक्नेनसक्ने यकिन हुने प्रमुख बञ्जराले बताए ।
ओभर लोडका कारण पुल भाँचिएको प्रहरीले जनाएको छ । पुलमा म.प्र.०३–००१ क ३१६३ नं.को (१८ चक्के टेलर) किलिङ्गर (कच्चा पदार्थ) बोकी होङ्सी सिमेन्ट कम्पनीबाट बिरगंजतर्फ जाँदै गरेको टेलर पुलमा हिँड्दै गर्दा पुल भाँचिएको थियो ।
भाँचिएको पुल मर्मत गरी सञ्चालन गर्न सम्भव नभएको र नयाँ पुल बनिहाल्ने अवस्थामा नरहेका कारण यात्रुलाई समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताए । सडक विभागले डाइभर्सन नबनाएसम्म गाडी सञ्चालन गर्न नसकिने उनको भनाइ छ ।
प्रहरी उपरीक्षक ढकालका अनुसार साना तथा हलुका सवारी साधन भने लामो मार्ग भएर गिरुबारीका भित्री सडकबाट पार हुने गरेका छन् भने ठुला बस तथा मालवाहक गाडी बिच बाटोमै रोकिएका छन् ।
अविरल वर्षाका कारण बिपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा अवरुद्ध भएको सडक अझै सञ्चालनमा आएको छैन ।
सोमबार रातिदेखि नै अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।
मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिकाको माम्तीमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध छ ।
बाढीले रोशी ९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बगाएको स्थानमा एकतर्फी राजमार्ग खुलाइएको छ । प्रहरीले राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ ।
