विमा दाबी भुक्तानी ९.६ प्रतिशतमात्रै
बाढीले घर सम्पत्तीमा क्षति पुराएको तीन महिना पुगिसकेको छ । तर क्षति पछि राहत मिल्छ भनेर गरिएको विमा दाबी भुक्तानी भने निरासाजनक रहेको पाइएको छ । विमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्ले असोज ११ र १२ को क्षतिमा भएको दाबीको ९.६ प्रतिशतमात्रै भुक्तानी भएको पाइएको छ ।
तीन महिनाअघिको बाढीपहिरो र डुबानका कारण भएको क्षतिको बिमा दाबी १२ अर्ब रुपैयाँभन्दा बढी परेको छ । गत असोज १० पछिको बाढीपहिरो र डुबानका कारण पुगेको क्षतिमा हालसम्म निर्जीवन बिमा कम्पनीमा १२ अर्ब ३६ करोड ६५ लाख ८७ हजार ५३१ रुपैयाँ बराबरको माग दाबी परेको हो ।
नियामक निकाय नेपाल बिमा प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार निर्जीवन बिमा कम्पनीमा तीन हजार ५४९ दाबी परेका छन् । दाबी अनुसार दाबी भुक्तानी भने आधाभन्दा पनि कम अर्थात् एक हजार ५१४ रहेको छ । तीन महिनाको अवधिमा एक अर्ब १९ करोड ६४ लाख ९० हजार ५५७ रुपैयाँ बराबरको मात्रै दाबी भुक्तानी भएको छ ।
सञ्चालनमा रहेका चौध निर्जीवन बिमा कम्पनी र चार वटा माइक्रो इन्स्योरेन्स कम्पनीको दाबी परेको सङ्ख्या र रकमसँग भुक्तानीको सङ्ख्या र रकममा धेरै ठुलो अन्तर छ ।
११ अर्ब १७ करोड ९६ हजार ९७४ रुपैयाँ बराबरका दुई हजार ३५ वटा बिमा दाबी भुक्तानीको प्रतीक्षामा छन् । प्राधिकरणले छिटो र सरल रूपमा दाबी भुक्तानी गर्न कम्पनीलाई निर्देशन दिए पनि दाबी भुक्तानी ज्यादै न्यून हो । प्राधिकरणका अनुसार दाबी पर्ने क्रम चलिरहेकाले दाबी सङ्ख्या र रकम अझै बढ्दो छ ।
हालसम्म धेरै दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । शिखरमा ४५७ वटा बिमा दाबी परेकामा अहिलेसम्म ४०७ वटा दाबीको भुक्तानी भइसकेको छ । सो कम्पनीमा एक अर्ब १५ करोड ९५ लाख ६८ हजार ८५९ रुपैयाँ बराबरको दाबी परेको छ । त्यसमध्ये अहिलेसम्म ३० करोड ७८ लाख २८ हजार ४८० रुपैयाँ भुक्तानी भइसकेको छ ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । सिद्धार्थमा सर्वाधिक ५०८ वटा दाबी परेको छ । दाबी सङ्ख्याको तुलनामा ५० प्रतिशत पनि भुक्तानी भएको छैन । कम्पनीबाट भुक्तानी भएको दाबीको सङ्ख्या २१९ मा सीमित रहेको छ ।
सिद्धार्थमा दुई अर्ब ६२ करोड ८६ लाख ३४ हजार ५५ रुपैयाँ बराबरको बिमा माग दाबी परेको छ । त्यसमध्ये अहिलेसम्म २५ करोड ५२ लाख ९८ हजार ८२४ रुपैयाँ भुक्तानी भएको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ४२२ वटा बिमा दाबी परेका छन् भने अहिलेसम्म १३७ वटा मात्रै दाबीको भक्तानी भएको छ । सो कम्पनीमा एक अर्ब ३४ करोड ९५ लाख १२ हजार ११३ रुपैयाँ बराबरको बिमा माग दाबी परेको छ । त्यसमध्ये अहिलेसम्म १४ करोड ५४ लाख एक हजार ६२२ रुपैयाँ भुक्तानी भएको छ ।
युनाइटेड अजोड इन्स्योरेन्सले दाबी परेकोमध्ये पाँच प्रतिशत मात्रै भुक्तानी गरेको छ । अजोडमा ३३३ वटा बिमा दाबी परेकामा ६२ वटाको मात्र दाबी भुक्तानी भएको छ ।
सो कम्पनीमा ७४ करोड ४५ लाख ३२ हजार ८८५ रुपियाँ बराबरको दाबी परेको छ भने त्यसको एक करोड २८ लाख ८४ हजार ७९९ रुपियाँल मात्रै अहिलेसम्म भुक्तानी गरेको छ । प्राधिकरणका अनुसार बिमालेखको प्रकार हेर्दा सम्पत्ति बिमा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम, मोटर बिमा (निजी), मोटर बिमा (सार्वजनिक), सामुद्रिक बिमा, कृषिबाली बिमा, पशुपन्छी बिमा र विविध छन् ।