आइएमई र साउदीको डिजिटल वालेट टिक्मोबीच सम्झौता
काठमाडौ ।
नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदीको अग्रणी डिजिटल वालेट टिक्मोबीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता सम्पन्न भएको छ ।
यहि माघ २७ मा साउदी अरबको राजधानी रियादमा सम्पन्न एक विशेष कार्यक्रमबिच सम्झौतामा आइएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अल्अज्लानले हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा साउदीको लागि नेपालको एक्टिङ एम्बेसडर सिर्जना अधिकारी ,आइएमईका कार्यकारी अधिकृत दिवाकर पौड्याल तथा आइएमई र टिक्मोका उच्चाधिकारीहरुको उपस्थिति थियो ।
साउदी अरब हाल आफ्नो भिजन २०३०मार्फत ‘नगदरहित’ समाजतर्फ लम्किरहेको छ। अर्कोतर्फ नेपालमा पनि डिजिटल वित्तीय पहुँच अब एउटा लक्ष्य मात्र नभई यथार्थ बन्दै गएको छ। यस्तो अवस्थामा रेमिट्यान्स क्षेत्रको विश्वसनीय नाम IME र प्रविधिमा आधारित डिजिटल इकोसिस्टम TIQMO बीचको सहकार्यले अरबको मरुभूमि र हिमालयको देश नेपालबीचको दूरीलाई थप कम गरेको आइएमई लिमिटेडले जनाएको छ । TIQMO सँगको सहकार्यले साउदीको जुनसुकै कुनाबाट पठाएको रकम उत्तिकै सुरक्षा र सम्मानका साथ नेपाल पुग्ने सुनिश्चितता प्रदान गरेको छ।
आइएमई र TIQMO बीच रियादबाट सुरु भएको यो यात्राले भविष्यमा वित्तीय कारोबारलाई सहज र विश्वाससिलो बनाउने लक्ष्य राखेको छ।