प्रशारणलाईन बनाउन साटिँदै जग्गा

काठमाडौं :
निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइनबाट प्रभावित वन क्षेत्रमा जग्गा सट्टाभरण प्रक्रिया सुरु भएको छ । आयोजनाले भोगचलन गर्ने वन क्षेत्र बराबरको जग्गा खरिद गरी वनसँग जोडिएका व्यक्तिको जग्गा सट्टाभरण कार्य अघि बढेको आयोजनाले जनाएको छ ।
आयोजना अनुसार तनहुँ खण्डमा ६७ हेक्टर र चितवन खण्डमा २५ गरी ९२ हेक्टर वन क्षेत्र आयोजनाको प्रसारण लाइनबाट प्रभावित हुने छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला सहजीकरण समितिको बैठकले सट्टाभरणसम्बन्धी जग्गाको टुङ्गो लगाउने आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताए ।
आयोजनाको प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि विसं २०७७ असोजदेखि काम सुरु भएको थियो । आयोजना अनुसार रुख कटानका विषयमा मन्त्रीपरिषद्बाट स्वीकृति भए पनि कार्यान्वयनमा नआउँदा निर्माण कार्य प्रभावित भएको थियो । कुल ९४ वटा टावरमध्ये ६९ वटा टावर ठडाइएको र ११ टावरको सबै काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।