Back To Top

July 6, 2025

सुनकोशी-मरिनको काम द्रुत गतिमा अगाडि बढाइने

Global Ime Bank AD

काठमाडौँ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाइने बताएका छन्।

पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आयोजनाको टनेल निर्माण सम्पन्न भइसकेको र बाँकी कामका लागि कार्यतालिका मागेर कामलाई तीव्रता दिन लागिएको जानकारी दिए।

‘गत असोजमा आएको बाढीका कारण आयोजनामा केही क्षति पुगेको, आर्थिक अभाव देखिएको र बाढीले पुर्‍याएको क्षतिको बीमा नपाएकोले काममा ढिलाइ भएको पाइएको छ। हामीले ‘वर्क सेड्युल’ मागेका छौँ। नयाँ ठेक्का लगाउँदा समय लाग्ने भएकाले हालकै ठेकेदारबाट काम गराउन लागिपरेका छौँ,’ मन्त्री खड्काले भने।

उनले आयोजनालाई तीव्र गतिमा सम्पन्न गर्न पूर्वाधार समितिबाट उपसमिति गठन गरेर आवश्यक जानकारी लिँदा सहज हुने विश्वास व्यक्त गरे।

ऊर्जा मन्त्री खड्काले पूर्वाधार समितिमा छलफल भइरहेको विद्युत् विधेयक, २०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकलाई सँगसँगै अगाडि बढाएर छिट्टै पारित गर्न समितिलाई तदारुकता देखाउन आग्रह गरे। ‘कुनै एउटा विधेयकलाई अगाडि बढाएर अर्को रोक्नुपर्ने भन्ने छैन। दुबै विधेयकलाई टुङ्ग्याउनुपर्छ,’ उनले स्पष्ट पारे।

लामो समयदेखि थाँती रहेको डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी विद्युत् बक्यौता उठाउनका लागि समिति बनाएर छानबिन भइरहेको जानकारी पनि उनले दिए। प्रयोग गरिएको विद्युत्‌को बिल जुनसुकै अवस्थामा तिर्नैपर्ने उनको भनाइ थियो।

मन्त्री खड्काले बजेटमा आएको ‘टेक एण्ड पे’ को व्यवस्था परिमार्जन भइसकेको उल्लेख गर्दै यस विषयमा अनावश्यक भ्रममा नपर्न सबैलाई आग्रह गरे। जलस्रोत विधेयकसम्बन्धी सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले उक्त विधेयकबारे प्रधानमन्त्री र मन्त्रीहरू स्वाभाविक रूपमा चासो राखेको स्पष्ट पारे।

जलस्रोत विधेयक राष्ट्रिय सभामा पुगेको र चाँडै नै राष्ट्रिय सभामा पेश हुने जानकारी उनले दिए। सो विधेयक पूर्वाधार समिति, मन्त्रालय र सरकारबाट पास गरेर प्रतिनिधिसभामा पठाइनु महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो।

Global Ime Bank
Prev Post

चुरे संरक्षण प्रयास प्रभावकारी

Next Post

हाईलाइफको प्रिमियम बासमती चामल बजारमा

post-bars

Leave a Comment