हरित अर्थतन्त्र विकासबारे राष्ट्रिय सम्मेलन
काठमाडौं : अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस, २०८२ को अवसरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजनामा “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास” विषयक राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ।
‘स्वच्छ ऊर्जाको कार्यान्वयनः नेपालको अर्थतन्त्रको न्यून कार्बनीकरण’ नाम दिइएको सम्मेलनले स्वच्छ ऊर्जाको कार्यान्वयनमार्फत नेपालको अर्थतन्त्रलाई न्यून कार्बनतर्फ लैजाने व्यावहारिक उपायमा केन्द्रित हुने आयोजकले जनाएको छ। यो सम्मेलन गत वर्ष सम्पन्न उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रूपान्तरण सम्बन्धी राष्ट्रिय सम्मेलनको निरन्तरता हो।
सम्मेलनको उद्घाटन ऊर्जामन्त्री अनिल कुमार सिन्हाको प्रमुख आतिथ्यतामा हुने छ। उद्घाटन सत्रमा “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास” सम्बन्धी प्रस्तुति, दिगो ऊर्जा च्यालेन्ज फण्ड सम्बन्धी पुस्तक विमोचन तथा सरकार, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिहरूका मन्तव्य समेटिने छन्।
कार्यक्रमको दोस्रो चरणमा तीनवटा प्राविधिक सत्र सञ्चालन गरिनेछन्। ती सत्रहरूमा स्वच्छ ऊर्जा र कार्बन बजारमार्फत न्यून कार्बनीकरण, ऊर्जा दक्षतामार्फत डिकार्बनाइजेसन,
तथा स्वच्छ ऊर्जा र विद्युतीय सवारी (इ–मोबिलिटी) मा लगानी जस्ता विषयमा छलफल हुने आज केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा जारी दिइयाे ।