सामाजिक सुरक्षा कोषमा २६ लाख योगदानकर्ता
काठमाडौँ ।
सामाजिक सुरक्षा कोष (एसएसएफ)मा योगदान गर्ने योगदानकर्ताको संख्या २५ लाख ९२ हजार १४१ पुगेको छ । गत शुक्रबार कोषले जारी गरेको विवरण अनुसार यसमध्ये १९ लाख ४८ हजार ४६२ जना वैदेशिक रोजगारीमा जानेहरु छन् ।
नेपालमै जागिर खाने कर्मचारी र रोजगारदाता (मालिक)हरुसमेत गरेर जम्मा ६ लाख ४२ हजार ३४५ जनाले कोषमा योगदान गरिरहेका छन् । यसबाहेक अनौपचारिक क्षेत्रका कामदार ७९४ जना र स्वरोजगारमा रहेका ५४० जनाले पनि योगदान गरिरहेका छन् ।
झण्डै २६ लाख योगदानकर्ताले कोषमा जम्मा गरेको पैसा ९४ अर्ब ९ करोड पुगेको छ । त्यसको १८.३८ प्रतिशत विभिन्न किसिमका दाबीमा भुक्तानी गरिसकेको कोषले जनाएको छ ।
हालसम्म विभिन्न शीर्षकमा कोषले १७ अर्ब २९ करोड रुपैयाँ भुक्तानी दिएको छ । यस्तो भुक्तानी २ लाख ४७ हजार ८०३ जनाले पाएका छन् । यसरी हेर्दा २५ लाख ९२ हजार योगदानकर्तामध्ये करीब ६ लाख ४४ हजार जना नेपालमै बस्छन् । उनीहरुमध्ये पनि झण्डै ४ लाख जनाले अहिलेसम्म कुनै पनि भुक्तानीको सुविधा लिएका छैनन् ।
कुल १७ अर्ब २९ करोड ३० लाखभन्दा बढी रकम दाबी भुक्तानी गरेको कोषले जनाएको छ । उक्त दाबीमध्ये १४ प्रतिशत अर्थात् २ अर्ब ४२ करोडभन्दा बढी रकम औषधि उपचार, स्वास्थ्य तथा मातृत्व शीर्षकमा दाबी भुक्तानी भएको छ ।
कुल दाबीको १.३ प्रतिशत अर्थात् २२ करोड ३१ लाख रुपैयाँ दुर्घटना तथा अशक्तता सुरक्षा दाबीमा भुक्तानी भएको छ । त्यस्तै आश्रित परिवार सुरक्षा दाबीमा १.६४ प्रतिशत अर्थात् २८ करोड ३६ लाख भुक्तानी भएको छ ।