दर्ता भएनन् सामाजिक सञ्जाल, होला त बन्द?

काठमाडौं ।
रितपूर्वक दर्ता नभए बन्द गराइदिने सञ्चार तथा सूचना प्रविधि मन्त्रीको चेतावनी वावजुत् पनि नेपालमा सञ्चालित सामाजिक सञ्जाल दर्ता हुन आएनन् । सरकारले यही बैशाख ७ गते आइतबारसम्मकाे समय दिएर सामाजिक सञ्जालाई सूचिकृत हुन समय दिएको थियो ।
सूचना निकालेर र सम्बन्धित निकायका प्रतिनिधिसँग कुराकानी गरेरै सामाजिक सञ्जाल सूचीकृत हुन आग्रह गरेका थियौं । सरकारको आग्रहलाई सामाजिक सञ्जाल फेसबुक, ह्वाट्एप, म्यासेन्सज, ट्वीटरसहितले वेवास्ता गरेका छन् ।
आजै मन्त्री परिष्दको बैठक बस्दै छ तर यो विषयमा छलफल गरेर बन्द गर्ने निर्णय भने सरकारले लिइ हाल्ने अवस्था छैन । विगतमा टिककटक बन्द गर्दा उपभोक्ताले भिपीएन प्रयोगमा ल्याउँदा दुरसञ्चार सेवा प्रदायकले ठूलो नोक्सानी व्यहोरेका थिए भने सरकारको आलोचनासमेत भएको थियो ।
समयभित्र पनि दर्ता हुन नआए सामाजिक सञ्जाल सञ्चालनमा रोक लाग्न सक्ने भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुले नै सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । उनले समयमा नै सूचीकृत हुन नआए नेपालभित्र त्यस्ता सामाजिक सञ्जालको सञ्चालनमा रोक लाग्नसक्ने बताएका थिए ।
सरकारले २०८० सालमै ल्याएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका अनुसार सामाजिक सञ्जालहरू नेपालमा अनिवार्य दर्ता हुनुपर्छ । गत चैत ७ गते तेस्रो पटक सूचना जारी गर्दै सरकारले ३० दिनभित्र दर्ता हुन निर्देशन दिएको थियो ।