साना मझौला उद्योगलाई सहुलियत चाहिन्छः ढकाल
थाइल्याण्ड:
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूका साना र मझौला उद्योगले विकसित र सम्पन्न मुलुक मार्फत थप सुविधा तथा सहुलियत पाउनु पर्ने बताएका छन् ।
विकासोन्मुख मुलुकका यस्तो उद्यमशीलताले त्यहाँको अर्थतन्त्रको मेरुदण्डको रूपमा काम गरिरहेको उल्लेख गर्दै ढकाले यस्ता उद्योगमा राज्यले लगानी बढाउन र अन्तरराष्ट्रिय जगतले निर्यात बजारमा थप सहुलियत उपलब्ध गराउन आह्वान गरे ।
एसियाली व्यापार प्रवद्र्धन फोरम एटीपीएफको थाइल्यान्डको राजधानी बैंककमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले समावेशी समृद्धिः एसियाली व्यापार अर्थतन्त्रमा एसएमईको सशक्तीकरणका मुद्दामा साझा आर्थिक दृष्टिकोण निर्माणका लागि पनि सरोकारवालालाई आग्रह गर्नुभयो ।
नेपालमा, साना तथा मझौला उद्योगहरूले जिडिपीको लगभग २२ प्रतिशत योगदान गर्ने भएकाले सो क्षेत्रको विकास तथा प्रवद्र्धनमा अन्तरक्षेत्रीय साझेदारीको आवश्यकतामा ढकालले विशेष जोड दिए । “साना तथा मझौला उद्योगलाई क्रियटिभ इकोनोमी सँग ठिकसँग जोडेर विकास तथा प्रर्वद्धनमा जोड दिन थालिएको छ, ” अध्यक्ष ढकालले भने, यस्ता उद्योगमा लगानी तथा बजारका सम्भावनाहरू बढेको तर्फ पनि म एसियाली लगानीकर्ताहरूको ध्यानाकर्षण गराउन चाहन्छु ।”
नेपालको निर्यात व्यापारमा हातले बुनेका गलैँचा, थाङ्का, चित्रकला र परम्परागत सङ्गीतका वाद्य यन्त्रहरूको उल्लेख्य हिस्सा रहेकाले सांस्कृतिक उद्योगहरूमा लगानी गरेर समावेशी समृद्धिमा योगदान गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे ।
पर्यटनमार्फत पनि साना तथा मझौला उद्यमलाइ प्रवद्र्धन गर्न सकिने भएकाले नेपाल भ्रमण गरी लगानी गर्ने अवसर खोज्न पनि अध्यक्ष ढकालले लगानीकर्ताहरुलाई आह्वान गरे । बढ्दो पर्यटन बजारलाई लक्षित गरी होटल, थिम पार्क, केबलकार लगायतका पर्यटन पूर्वाधारमा लगानी खोजिरहेकाले साझेदारीका लागि पनि अध्यक्ष ढकालले लगानीकर्ताहरूको ध्यानाकर्षण गराए ।
भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने भएको र बंगलादेशमा पनि थप बजार सुनिश्चित रहेकाले जलविद्युतमा लगानीका लागि पनि उपयुक्त अवसर सृजना भएको अध्यक्ष ढकालले जानकारी गराए ।
ढकालले लगानीको वातावरण सुधार गर्ने उद्देश्यले व्यवसाय गर्न सम्बन्धित विभिन्न कानुनहरू परिमार्जन गरेको, विदेशी लगानीकर्ताहरूलाई सहजीकरण गर्न द्विपक्षीय लगानी सम्झौता फ्रेम वर्क पारित भएको जानकारी गराउँदै नेपालमा उपलब्ध सहज अवसरको उपयोग गर्न पनि अध्यक्ष ढकालले बाह्य लगानीकर्ताहरुलाइ आग्रह गरे ।
अध्यक्ष ढकालले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताहरूलाई सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघ तयार रहेको भन्दै ढकालले महासंघले यसका लागि हेल्प डेस्क मार्फत विदेशी लगानीकर्ताहरूलाई नीति र प्रक्रियाहरू बुझ्न मद्दत गरिरहेको जानकारी गराए ।