मुलुकको अर्थतन्त्र ६१ खर्बको

काठमाडौं । चालू आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ५७ खर्बबाट बढेर ६१ खर्ब पुगेको छ । एकै वर्षमा अर्थतन्त्रको आकार ४ खर्बले बढेको हो । अर्थ मन्त्रालयद्वारा बिहीबार सार्वजनिक तथ्यांकअनुसार अर्थतन्त्रमा सकारात्मक प्रगति भएको छ ।
आव २०८१–८२ को हालसम्मको तथ्यांकअनुसार नेपालको समग्र आर्थिक सूचकमा सुधार देखिएको छ । अर्थ मन्त्रालयले चालू आवको वृद्धिदर ४ दशमलव ६१ प्रतिशत रहने प्रक्षेपण गरेको छ, जुन अघिल्लो वर्षको ३ दशमलव ८७ प्रतिशतभन्दा बढी हो । सरकारी तथ्यांकअनुसार चालू आवको २६ असारसम्ममा कुल राजस्व संकलन १० खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष सोही अवधिमा राजस्व संकलन ८ खर्ब ८ अर्ब थियो । चालू आवमा गत वर्षभन्दा १ खर्ब ८ अर्बले राजस्व बढेको छ । राजस्व संकलन अघिल्लो वर्षको तुलनामा ७७ दशमलव ३४ प्रतिशत पुगेको छ । पु ँजीगत खर्चतर्फ पनि सुधार देखिएको दाबी गरिएको छ । चालू वर्षको सोही अवधिमा पु ँजीगत खर्च २ खर्ब ८ अर्ब पुगेको छ, जुन अघिल्लो वर्षभन्दा ३६ अर्बले अर्थात् ५९.१३ प्रतिशत बढी हो ।
मुद्रास्फीति दरमा पनि उल्लेखनीय गिरावट आएको छ । वैशाखसम्मको उपभोक्ता मूल्य सूचकांकअनुसार मुद्रास्फीति २ दशमलव ७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो दर ४ दशमलव ४० प्रतिशत थियो । चालू आवमा वैदेशिक व्यापारतर्फ आयातमा १३ दशमलव १ प्रतिशत र निर्यातमा ७७ दशमलव ८ प्रतिशत वृद्धि भएको छ ।
वित्तीय सूचकांकतर्फ हेर्दा २५ असारसम्म नेप्से परिसूचक २७०५ मा पुगेको छ । अघिल्लो वर्षको सोही मितिमा नेप्से सूचक २१०० मा थियो । यस अवधिमा वाणिज्य बैंकहरूले दिएको कर्जामा पनि ८ दशमलव ७ प्रतिशतको वृद्धि भएको उल्लेख छ। गत वर्ष ५.६ प्रतिशत मात्र रहेको थियो । गत वर्षको तुलनामा वैदेशिक सहायता पनि वृद्धि भएको देखिएको छ ।
बजेटले अपेक्षा गरेजति वैदेशिक सहायता प्राप्त हुनसके पनि चालू आवको जेठसम्म १८ अर्ब ६५ करोड रुपैयाँबराबरको विदेशी अनुदान तथा ऋण प्राप्त भएको छ । अघिल्लो वर्ष सोही अवधिमा १४ अर्ब ७२ करोड रुपैयाँ सहायता प्राप्त भएको थियो ।
औद्योगिक उत्पादनतर्फ औद्योगिक वस्तुहरूको मूल्य र आपूर्ति स्थिर देखिएको छ । ऊर्जा, ग्यास, खानेपानी र सञ्चार सेवातर्फ पनि उल्लेखनीय रूपमा मूल्य स्थिरता कायम भएको बताइएको छ । वर्तमान तथ्यांकअनुसार चालू खाता घाटा पनि केही घटेको देखिएको छ । चालू खाता सन्तुलनमा देखिएको सुधार विदेशी मुद्राको सञ्चिति वृद्धि तथा रेमिट् यान्सको प्रवाह बढेको संकेत मानिएको छ ।
चालू खाता अहिले ३ खर्ब ७ अर्ब बचतमा रहेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार देशमा पठाइएको रेमिट्यान्स रकम १५ दशमलव ५ प्रतिशतले बढेर १५ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्स १३ खर्ब २७ अर्ब रुपैयाँ मात्र थियो । आर्थिक क्षेत्रअनुसार १८ वटा उपसूचकको तथ्यांकसमेत समावेश गरिएको छ, जसमा कृषि, पशुपालन, जलस्रोत, साना उद्योग, यातायात, सञ्चार, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्र समावेश छन् ।
