शेयर कारोबार एक वर्षमै तीन गुणा बृद्दि

काठमाडौं । अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा उच्च वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जको विवरणअनुसार आव २०८०/८१ मा सात खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँबराबरको धितोपत्रको कारोबार भएकोमा आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोडबराबरको कारोबार भएको हो । कारोबार रकम आव २०८०/८१ को तुलनामा १८९.२३ प्रतिशत बढी हो । यसअघि आव २०७७/७८ मा सबैभन्दा धेरै (अर्थात् १४ खर्ब ५४ अर्ब ४४ करोड)को कारोबार भएको थियो ।
त्यसैगरी वर्ष २०८१ को असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रहेको बजार पुँजीकरण २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा सूचीकृत कम्पनीको संख्या २७२ पुगेको छ । गत आवमा मर्जर तथा एक्विजिसनका कारण तीन कम्पनी सूचीकरणबाट हटेका छन् ।
त्यसैगरी, प्रथम सार्वजनिक निष्कासनमार्फत चारवटा कम्पनी थपिएका छन् । प्रथम निष्कासनमार्फत तीन करोड ६५ लाख कित्ता सेयर, थप निष्कासनमार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको चार करोड ३२ लाख ५८ कित्ता सेयर, सामूहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाइ र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।
