सेबोन अध्यक्षमा सन्तोषनायण, यस्तो छ उनको अनुभव
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले सोमबार श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । ११ महिनादेखि रिक्त रहेको उक्त पदमा सरकारले श्रेष्ठलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो ।
नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वित्तीय क्षेत्रमा दखल राख्दछन्। काठमाडौं विश्ववि विद्यालयबाट सन् २००३ मा स्नातकोत्तर श्रेष्ठको दुई दशक लामो पेशागत/व्यावसायिक अनुभव छ । उनले स्वाभिमान लघुवित्त वित्तीय संस्था (तिलोत्तमा)को अध्यक्ष (२०१७-२०२४), नेपाल विद्युत प्राधिकरणको सदस्य (२०१३-१६), नेपाल एक्सप्रेस फाइनान्सको सदस्य (२००५-२०१५), नारायण शोप एन्ड केमिकल्सको प्रबन्ध निर्देशक, जियोसन नेपाल इन्जिनियरिङ एन्ड सोलुसन्सको कार्यकारी निर्देशकका साथै विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघसंस्थामा काम गरेको अनुभव संगालेका छन् ।
नेपाल सरकारबाट प्रदान गरिएको नयाँ जिम्मेवारीलाई आगामी दिनमा आफ्नो कामबाटै प्रमाणित गर्ने उनले बताए । पुँजीबजारको सुधारमार्फत नेपालको पुँजीबजारलाई साँच्चिकै लगानी जुटाउने स्रोतको रूपमा विकास गरी मुलुकको विकास र समृद्धिमा योगदान गर्ने उहाँको प्रतिवद्धता रहेको उनले बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले आइतबार श्रेष्ठसहित तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । चर्को विवाद र लामो राजनीतिक खिचातानीकै कारण लामो समयसम्म सरकारले अध्यक्ष नियुक्त गर्न सकेको थिएन । यही कारण गत पुस २१ यता अध्यक्ष पद रिक्त थियो ।