साञ्जेनको व्यावसायिक विद्युत उत्पादन सुरु
काठमाडौं ।
चिलिमेको जलविद्युत आयोजनाको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ । सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर सोमबार साँझदेखि साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा प्रवाह गरिएको हो ।
साञ्जेन जलविद्युत् आयोजनाले गत मङ्सिर ८ गतेदेखि परीक्षण उत्पादन गर्दै आएको थियो । रसुवाको आमाछोदिङ्मो–५ मा निर्माण भएको सो आयोजनाको क्षमता ४२.५ मेगावाट रहेको छ । सबै प्राविधिक परीक्षण सम्पन्न गरी गत मङ्सिर ८ गते पहिलो युनिटबाट बिजुली उत्पादन गरिएको थियो । उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा सोमबारदेखि व्यावसायिक रूपमा उपलब्ध गराइएको आयोजनाका सबइञ्जिनियर रविन कोइरालाले जानकारी दिए ।
चिलिमे त्रिशूली ६६ केभी प्रसारण लाइनमार्फत क्षमताको सीमितताका कारण करिब ८.५ मेगावाट विद्युत् वैकल्पिक रूपमा बिक्री गर्दै आएको थियो । साञ्जेन तथा साञ्जेन (माथिल्लो) दुवै आयोजना २०७२ सालको भूकम्प, कोभिड–१९, नाकाबन्दी, राष्ट्रिय प्रसारण लाइन उपलब्ध नहुनुलगायत कारणले निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजना कार्यालयले जनाएको छ ।