रेमिट्यान्स १३.२ प्रतिशतले वृद्धि

काठमाडौं ।
चालु आर्थिक वर्षको १० महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार १० महिनामा रेमिट्यान्स १३.२ प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तै, वैशाख महिनामा मात्रै एक खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको वैशाखको तुलनामा ४९ अर्ब ३१ करोड रुपैयाँले रेमिट्यान्स बढेको हो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४७९ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३०१ अर्ब ७५ करोड रहेको थियो ।
वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका निम्ति संस्थागत तथा व्यक्तिगत गरी नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या चार लाख पाँच हजार ६१० छ । रपुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८० हजार ३१४ छ ।
अघिल्लो वर्षको सोही अवधिमा संस्थागत तथा व्यक्तिगत गरी नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या तीन लाख ७३ हजार ३०७ थियो । पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३६ हजार ३९८ थियो ।
