Back To Top

December 8, 2025

रिलायन्सको आईपीओ पहिलो दिनमै ओभर सब्सक्राइभ

Global Ime Bank AD
Insourance

काठमाडौं ।

रिलाइन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्काशन गरेको आईपीओमा पहिलो दिनमै ५.१ गुणा बढी आवेदन परेको छ । कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत (१ लाख १५ हजार ५९६ कित्ता) वैदेशिक रोजगारीमा गएका लगानीकर्ताका लागि निष्काशन गरेको छ । सोमबार १० हजार २० आवेदकले ५ लाख ८९ हजार ८५० कित्ताको आवेदन परेको छ ।

कम्पनीको प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा रहेको छ । बुक बिल्डिङ निर्देशिका बमोजिम बोलकबोल प्रणालीमार्फत आवेदन दिन योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द हुने अवधि मंसिर २५ (बिहीबार) तोकिएको छ । उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा पुस ७ सम्म लम्ब्याउन सकिने भए पनि पहिलो दिनै मागभन्दा बढी आवेदन परेपछि निष्काशन अवधि लम्बिने संभावना छैन । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

सोमबार आईपीओ निष्काशनको आधा घण्टामै १ लाख १८ हजार ३४० कित्ताको लागि आवेदन परेर ‘ओभर सब्सक्राइभ’ भएको थियो । त्यसपछि पनि दिनभर लगानीकर्ताको उत्साहमा कुनै कमी देखिएन । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिएका छन् ।

तीन दसकअघि स्थापित रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा लगानीकर्ताको तीब्र आकर्षण देखिनुमा उसको विश्वासिलो बिरासत, बलियो वित्तीय अवस्था र निरन्तर लाभदायी यात्रा प्रमुख कारक रहेका छन् ।

रिलायन्स स्पिनिङ मिल्स नेपालको ठूलो धागो उत्पादक र रोजगारदाता उद्योग हो । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, बेलायत लगायत मुलुकहरुमा निर्यात गर्दै आएको छ । वार्षिक ५ करोड अमेरिकी डल डलरको निर्यात हुन्छ । कम्पनीको मूल–उद्योग सुनसरीको खनार र शाखा उद्योग दुहबीमा रहेको छ । नेपालका प्रतिष्ठित र सफल उद्योपतिहरु पवनकुमार गोल्याण, अक्षय गोल्याण र शशिकान्त अग्रवाल कम्पनीका संस्थापक लगानीकर्ता हुन् । पवनकुमार ६ दसक लामो इतिहास बोकेको गोल्याण ग्रुपका अध्यक्ष र अक्षय प्रवन्ध निर्देशक हुन् ।

रिलायन्सको नेतृत्व हाल अक्षयले गरिरहेका छन् । अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल रिलायन्सलाई उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा अक्षयलाई ‘महत्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो ।

अधिकृत पूँजी २ अर्ब ६० करोड, जारी पूँजी १ अर्ब ९० करोड र चुक्ता पूँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रहेको छ । कम्पनीले अहिले चुक्ता पूँजीको १० प्रतिशत शेयरमात्र निष्काशन गरेको छ । निष्काशित शेयरमध्ये संस्थागत लगानीकर्तालाई करिब ४ प्रतिशत र सर्वसाधारण (वैदेशिक रोजगारीमा गएकासमेत) लाई ६ प्रतिशत छुट्याइएको छ ।

 

United long banner ad
Prev Post

नागढुङ्गा मलेखु सडक दैनिक पाँच घण्टा बन्द

Next Post

प्राधिकरकणमा हितेन्द्रदेव शाक्यको पुनर्वहाली

post-bars

Leave a Comment