राहुघाट जलविद्युतको निर्माण तीब्र
म्याग्दी: म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाअन्तर्गत सुरुङभित्रका मुख्य संरचनाको निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको यो आयोजना रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमानामा अवस्थित छ ।
आयोजनाको बाँधदेखि रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरसम्म जोड्ने मुख्य सुरुङ, पेनस्टक पाइपलाइन, भर्टिकल प्रेसर साफ्ट, बटम प्रेसर साफ्ट, टप पेनस्टक तथा पेनस्टक पाइपलाइन जडान कार्य सम्पन्न भइसकेको छ ।
कूल ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ, १ किलोमिटर ८२ मिटर लामो पेनस्टक पाइपलाइन, १९६ मिटर भर्टिकल प्रेसर साफ्ट, ६१ मिटर अग्लो सर्ज साफ्ट, ३२९ मिटर बटम प्रेसर साफ्ट तथा ५०९ मिटर टप पेनस्टक जडान भएको छ । विसं २०८१ साउन १५ गते ‘ब्रेकथ्रु’ भएको मुख्य सुरुङको प्लास्टर र ढलान कार्य सम्पन्न भएको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए ।
हालसम्म आयोजनाको ९२ प्रतिशत भौतिक प्रगति भएको र २०८२ फागुनभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यका साथ बाँध, सुरुङ, विद्युत्गृह, इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकलतर्फका बाँकी काम अन्तिम चरणमा पुगेको केसीले बताए ।
रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा ३१ मिटर लामो र १७ मिटर अग्लो बाँध निर्माण सम्पन्न भएको छ । ११९ दशमलव ७ मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्डर (पानी थिग्राउने पोखरी) को निर्माण ९० प्रतिशत सम्पन्न भएको छ ।
तिल्केनीचौरमा निर्माणाधीन विद्युत्गृहको काम ९८ प्रतिशत पूरा भएको छ । विद्युत्गृहबाट निस्कने पानी कालीगण्डकी नदीमा मिसाउने १२८ मिटर लामो टेलरेस डक्ट निर्माण सम्पन्न भएको छ । २०–२० मेगावाट क्षमताका दुई युनिटमध्ये एक युनिटमा टर्बाइन र जेनेरेटर जडान सकिएको र दोस्रो युनिटको उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजनाका व्यवस्थापक राजबहादुर बिष्टले जानकारी दिए ।
आर्थिक समस्याका कारण २०७२ मा पुरानो ठेकेदारसँगको सम्झौता रद्द गरी आयोजनाको क्षमता ३२ मेगावाटबाट ४० मेगावाट पु¥याएर नयाँ प्रारूपमा निर्माण अघि बढाइएको थियो । आयोजनामा भारतीय एक्जिम बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ ।