डिजेल र मट्टितेलको मूल्य वृद्धि
काठमाडौँ : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आजबाट लागू हुने गरी डिजेल÷मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाउने निर्णय गरेको हो ।
मूल्य समायोजनपछि पहिलो वर्गका लागि डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १३६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १३८ रुपैयाँ र तेस्रो वर्गका लागि १३९ रुपैयाँ कायम भएको निगमले जनाएको छ।
निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्गमा, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्गमा तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरिएको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि यी खुद्रा बिक्री मूल्य लागू हुनेछन् ।
यद्यपि निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। आन्तरिक उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ भने अन्तरराष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाइएको छ। मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँ र अन्तरराष्ट्रिय तर्फ प्रतिकिलोलिटर अमेरिकी ९६६ डलर कायम भएको छ ।