Back To Top

February 3, 2026

अर्थतन्त्र क्रमशः स्थिरता र सुधारको बाटोमा

Global Ime Bank AD
Insourance

काठमाडौँ:

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्कले देशको अर्थतन्त्र क्रमशः स्थिरता र सुधारको बाटोमा रहेको संकेत गरेको छ । पुस मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अधिकांश प्रमुख आर्थिक सूचक सन्तोषजनक देखिएका छन् ।

वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित भएको छ । उच्च मूल्यवृद्धिको दबाबबीच यो दरलाई अर्थतन्त्रका लागि सकारात्मक संकेतका रूपमा लिइएको छ ।

विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा बढ्दै रु ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ, जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो । राष्ट्र बैंकका अनुसार यो सञ्चिति १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

समीक्षा अवधिमा चालु खाता रु चार खर्ब २९ अर्ब ९१ करोड र शोधनान्तर रु पाँच खर्ब एक अर्ब २४ करोड बचतमा रहेको छ । विप्रेषण आप्रवाहमा पनि उल्लेख्य वृद्धि देखिएको छ । नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले विप्रेषण बढेको हो । पुस महिनामा मात्रै रु एक खर्ब ९२ अर्ब ६२ करोड विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

विदेश व्यापारतर्फ निर्यात ४३.८ प्रतिशतले बढ्दा आयात १४.२ प्रतिशतले वृद्धि भएको छ । यसले व्यापार घाटा नियन्त्रणतर्फ केही सुधार देखिएको संकेत गर्दछ ।

सरकारी वित्ततर्फ हेर्दा नेपाल सरकारको कूल खर्च रु ६९० अर्ब २२ करोड पुगेको छ भने राजस्व परिचालन रु ५७७ अर्ब ४० करोड रहेको छ ।

मौद्रिक सूचकअनुसार विस्तृत मुद्राप्रदाय ५.४ प्रतिशतले बढेको छ भने वार्षिक आधारमा १४.२ प्रतिशतको वृद्धि देखिएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप ५.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ । वार्षिक आधारमा निक्षेप वृद्धिदर १४.८ प्रतिशत र कर्जाको वृद्धिदर ६.७ प्रतिशत रहेको छ ।

ब्याजदरको अवस्थातर्फ भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१ दिने ट्रेजरी बिलको ब्याजदर २.३५ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको औसत ब्याजदर ७.१२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको यो प्रतिवेदनले आर्थिक गतिविधिमा क्रमशः गति आउँदै गएको र वित्तीय प्रणालीमा स्थायित्व बढ्दै गएको स्पष्ट संकेत गरेको छ ।

United long banner ad
Prev Post

परीक्षण उत्पादनको तयारीमा मेवाखोला हाइड्रो

Next Post

आर्थिक गणनामा सार्वजनिक निजी सहकार्यमा जोड

post-bars

Leave a Comment