पोखरा महानगरले ल्यायो नयाँ ऊर्जा योजना

पोखरा ।
दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम स्वरूप, पोखरा महानगरपालिकाले मंगलबार आफ्नो प्रथम नगर ऊर्जा योजना (एमइपी) औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
पाँच वर्षे अवधिको यस योजनाले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै ऊर्जा पहुँच विस्तार गर्ने, ऊर्जा दक्षता अभिवृद्धि तथा नवीकरणीय ऊर्जाको प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काठमाडौंका उप कार्यकारी निर्देशक डा. नारायण प्रसाद अधिकारी, जिआइजेड नेपालका वरिष्ठ ऊर्जा विशेषज्ञ डा.नारायण प्रसाद चौलागाई, महानगरका पदाधिकारीहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
ऊर्जा विकास उप–समितिद्वारा तयार गरिएको उक्त योजना जिआइजेड नेपालको ‘रिप–ग्रीन’ कार्यक्रमको प्राविधिक सहयोगमा नौ चरणमा आधारित समग्र प्रक्रियाबाट तयार गरिएको हो ।
योजना तयारीको क्रममा विभिन्न सरोकारवालासँग छलफल तथा परामर्श गरिएको थियो । यो योजना २०८१ फागुनमा पोखरा महानगरपालिकाबाट औपचारिक रूपमा अनुमोदन गरिएको छ ।
कूल १ अर्ब ३३ करोड ३० लाख ८२ हजार रुपैयाँको अनुमानित लागत रहेको यस योजनाले ‘समृद्ध पोखराका लागि प्रभावकारी र दिगो ऊर्जा’को दीर्घकालीन परिकल्पना गरेको छ ।
