काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गर्दै अब अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने बताएकी छन् ।
आइतबार पदभार ग्रहणपछि सचिवहरुसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आँकलन गरी सफ्टलोनदेखि अन्य सहयोग सरकारले गर्ने बताइन् । उनले व्यवसायीलाई जसरी उभिन्छौं उभिउ भन्न नमिल्ने बताइन् ।
क्षतिका बाबजुत निजी क्षेत्रले अघि बढ्ने प्रण गरेकोमा उनले प्रशंसा गरिन्। ‘व्यक्तिको सम्पत्तिको क्षति भएर कतिपय व्यायापारी त अब उठ्नै नसक्ने अवस्थामा पुगे । त्यसैले त्यसमा पनि राज्यले विचार गर्छ । उनीहरुलाई कसरी उठाउने भन्नेमा हामी सोच्छौं,’ उनले भनिन्, ‘कुन सहयोग दिने भन्नेमा हामी सोच्छौं । बैंकको सफ्ट लोन दिने की अथवा केही अन्य सहयोग गरेर हुन्छ की हामी सहयोग गर्छौं । सानासाना व्यापारीहरु पनि लुटिएका छन् । आज मैले समाचार पनि पढेँ, धेरै ब्यापारीहरुले धेरै नोक्सानी भएको छ, हामी उठ्ने कोशिस गर्दैछौं भन्नुभएछ । हामी हार्दैनौं भन्नुभएको छ ।’
‘व्यक्तिका घर, सम्पत्ति, सुरक्षा निकायदेखि सिंहदरबार, संसद, अदालत जलाउने काम भयो । व्यक्तिको सम्पत्तिदेखि उद्योगी व्यापारी, इन्टरप्रेनरको सम्पत्ति जलाउने काम भयो,’ प्रधानमन्त्री कार्कीले भनिन्,’ उनीहरुलाई हामीले जसरी उभिन्छौं, उभिउ भन्न मिल्दैन ।’