Back To Top

June 30, 2025

पौडेलले भेटे भारतीय र चिनियाँ केन्द्रीय बैंकका गभर्नर

Global Ime Bank AD

काठमाडौ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल जुन २७ देखि २९, २०२५ सम्म स्विट्जरल्याण्डको बासेलमा आयोजित बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स (बीआईएस) को ९५ औं वार्षिक बैठकमा सहभागी भएका छन् ।

सन् १९३० मा स्थापित बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसमा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य रहेका छन् ।

विश्वभर मौद्रिक र वित्तीय स्थायित्व कायम राख्ने उद्देश्यले स्थापित उक्त संस्थाले केन्द्रीय बैंकहरूबीचको सहकार्य र वित्तीय प्रणालीको विकास एवम् वित्तीय स्थायित्व कायम राख्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

उक्त बैठकमा बीआईएस सदस्य राष्ट्र एवं विश्वका विभिन्न देशका केन्द्रीय बैंकका गभर्नरहरू एवम् उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

बैठकका क्रममा गभर्नर डा. पौडेल सीपीएमआईः इमर्जिङ मार्केट्स एन्ड डेभलपिङ इकोनोमिक्स– ब्रिजिङ ग्याप्सः फाइनान्सियल इन्क्लुजन, रिजनल इन्ट्रिगेसन एन्ड क्रस बोर्डर पेमेन्ट्स् तथा बीआईएस इनोभेसन हब सेमिनारः एआई एन्ड सेफ्टी विषयक अन्तरक्रिया कार्यक्रमहरूमा सहभागी भएका थिए ।

कार्यक्रममा अन्तरदेशीय भुक्तानी प्रणालीमा केन्द्रीय बैंकहरूले गरेका उपलब्धि र सामना गर्नुपरेको चुनौती तथा केन्द्रीय बैंकमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग र यसले बैंकिङ प्रणालीमा ल्याउन सक्ने चुनौती र त्यसलाई सम्बोधन गर्न केन्द्रीय बैंकहरूले अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाका सम्बन्धमा छलफल भएको थियो ।

गभर्नर डा. पौडेलले रेगुलेसन एन्ड कम्पिटिटिभनेस विषयक अन्तरक्रिया कार्यक्रममा समेत सहभागिता जनाए । वार्षिक बैठकमा बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्सले वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए भने प्राध्यापक मौरिस अब्सटफेल्डले ‘द इन्टरनेशनल मनिटरी सिस्टमः अ फर्क इन द रोड’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । वार्षिक बैठकका क्रममा गभर्नर डा. पौडेलले बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्ससँग भेटघाट गरे ।

बीआईएस, बैंकिङ विभागका प्रमुख लुइस बेङ्गोचाको नेतृत्वमा उक्त विभागका उच्च अधिकारीहरू लगायतका प्रतिनिधिहरूसँग समेत उनले बैठक गरेको राष्ट्र बैंकले जनाएको छ ।

Global Ime Bank
Prev Post

‘अन्तरराष्ट्रिय वित्तीय प्रणालीमा सुधार आवश्यक’

Next Post

पाँच वर्षमा पाँच लाख हरित रोजगारी सिर्जना

post-bars

Leave a Comment