बजारबाट एक खर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
काठमाडौं ।
विदेशी मुद्रा ढुकुटीमा अधिक थुपारेको नेपाल राष्ट्र बैंकले बिहीबार आन्तरिक बजारबाट पनि १ खर्ब रुपैयाँ झिक्न थालेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा पैसा धेरै भएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १३ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
बैंकहरुले एक आपसमा सापटी लिने अन्तर बैंक ब्याज दर नै तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । यो अवस्थाले बैंकहरुलाई अल्पकालीन रकम समेत कम आवश्यक रहेको जनाउछ ।
हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल झरेमा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । अहिले तीन प्रतिशतभन्दा तल झरेकाले फेरि बजारबाट पैसा झिक्न लागेको हो ।
निक्षेप संकलनको बोल–कबोल रकम परिमाण अनुसार बहुब्याजदरमा पनि बहुबोल कबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोल–कबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
निक्षेप बढिरहेका बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) थुप्रिएको हो ।
हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६।५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । अहिले तीन प्रतिशतभन्दा तल झरेकाले फेरि बजारबाट पैसा झिक्न लागेको हो ।
निक्षेप संकलन खरिदका लागि आज दिउसो ३ बजेसम्म अनलाइन बोल–कबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १0 करोड र बढीमा पाच करोड रुपैयाले भाग गर्दा निशेष भाग जाने गरी बोल–कबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।