हितेन्द्रले भने– चिन्ता लिनुपर्ने अवस्था छैन

काठमाडौ ।
बिहीबार एक्कासि विद्युत् अवरुद्ध भएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले कुनै चिन्ता नलिन आग्रह गरेका छन्।
शुक्रबार पत्रकारहरुसँग उनले बिहीबार भएको अवरुद्धलाई उदाहरणका रुपमा लिँदै विद्युत् उत्पादनसँगै प्रसारण नेटवर्क पनि त्यही गतिमा अघि बढाउनुपर्ने अन्यथा यस्ता समस्या आइरहने बताए।
सामाजिक सञ्जालमा पूरै विद्युत् अवरुद्ध हुनपुगेको भन्दै व्यापक चर्चा चलेपछि प्राधिकरणको तर्फबाट स्पष्टीकरण दिनुपर्ने देखिएकाले पत्रकार सम्मेलन गरेको उनले बताए।
‘हिजो ६ बजेर ३८ मिनेटमा ढल्केबर–वसन्तपुरको लाइनमा रुखको हाँगा परेर र ढल्केबर–नवलपुर लाइनमा रुखको ठूलै हाँगा खसेर दुईवटा लाइनमा सँगसँगै घटना भएर सिस्टम अवरुद्ध भएको हो। त्यो समयमा त्यो क्षेत्रवरिपरि चक्रवातजस्तो स्थानीय रुपमा धेरै शक्तिशाली हावाहुरी चलेको थियो। धेरै ठाउँमा एकैपटक समस्या भयो’, उनले भने, ‘त्यो मात्र होइन, ढल्केबरबाट पश्चिमतर्फ जाने र वीरगन्जदेखि पश्चिम जाने लाइनमा पनि समस्या आयो।’
पत्रकार सम्मेलनमा समस्या समाधान हुन लागेको बताए पनि शुक्रबार रातीसम्म उपत्यकामा विद्युत् आपूर्तिको अवस्था कमजोर थियो ।
