पाँच पैसाको हठले चैतमा लोडसेडिङको जोखीम
काठमाडौं:
भारतबाट आगामी अप्रिल र मे)मा २४सै घण्टा निर्वाध १०० मेगावाट बिजुली खरिद गर्ने नेपाल विद्युत् प्राधिकरणको योजना दोस्रो पटक पनि विफल भएको छ । भारतमै अत्यधिक महँगो हुने समयमा प्राधिकरणले दरको सिमा तोकेर बोलपत्र आह्वान गरेकाले कुनै पनि आपूर्तिकर्ताले प्राधिकरणले गरेको आह्वानमा प्रस्ताव पेश नगरेका हुन् ।
पछिल्लो पटक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आप्mनै हठमा फागुन १ गते विद्युत् आपूर्तिका लागि अधिकतम दर ६.९० भारु प्रतियुनिटको सिमा राखेर बोलपत्र आह्वान गरेका थिए । जव की यस अगिका कार्यकारी निर्देशक मनोज सिलवालले प्रतियुनिट ६ रुपियाँ ९५ पैसामा यस्तो बिजुली किन्न गरेको प्रयास विवादमा पारिएको थियो ।
निर्धारित दर सीमा दरभित्र कुनै पनि कम्पनीले प्रस्ताव नदिएपछि प्राधिकरणले पाँच दिन म्याद थपेको थियो। तर शुक्रबार दिउँसो १२ बजेसम्म पनि कुनै पनि भारतीय आपूर्ति कर्ता कम्पनीले प्रस्ताव पेश नगरेको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए । शाक्यले गत माघमा पनि यस्तै बोलपत्र आह्वान गरेकोमा सो पनि विफल भएको थियो ।
अगिल्ला कार्यकारीले गरेको सम्झौता (प्रतियुनिट ६.९५ भारु) भन्दा एक पैसा भए पनि कममा सम्झौता गर्ने प्राधिकरणका कार्यकार्य निर्देशक हितेन्द्रदेव शाक्यले बेन्चमार्क लिएपछि प्रक्रिया पुनः निष्कर्षविहीन बनेको भन्दै प्राधिकरणका अधिकारीहरुले असन्तुष्टिसमेत जनाएका छन् । “५ पैसाको हठले मुलुकमा लोडसेडिङको जोखीम बढेको छ,” प्राधिकरणका एक अधिकारीले भने, “यो वर्ष त कुलेखानीमा पनि पानी कम छ ।”

स्रोतका अनुसार प्राधिकरण सञ्चालक समितिले दरभाउ नतोकी खुला बोलपत्र आह्वान गर्न निर्णय गरेको भए पनि सो निर्णयलाई बेवास्ता गर्दै शाक्यले प्रतियुनिट ६.९० भारुमा नबढ्ने गरी बिडिङ गराएका थिए ।
अप्रिल मेमा भारतमा अत्यधिक गर्मी हुने भएकाले विद्युत् खपत उच्च हुन्छ जसले गर्दा पिक समयमा भारतले ईन्डियन इनर्जी एक्सचेन्ज(आइईएक्स)बाट पनि पछिल्ला केहि वर्ष सोलार आवर(दिउसो)मा मात्र नेपाललाई विद्युत् निर्यात गर्न अनुमति दिने गरेको थियो । यो वर्ष पनि अवस्था त्यस्तै रहे मुलुकमा पिक समय लोडसेडिङ गर्नु पर्ने जोखीम सृजना भएको छ ।
यो वर्ष हिउँदै वर्षा कम भएकाले आन्तरिक उत्पादन पनि धेरै घट्ने जोखीम छ । यद्धपी प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव साक्यले भने लोड म्यानेज हुने दाबी गरेका छन् ।