नेपालको अर्थतन्त्र ‘बाहिरी ठिक्क भित्री दिक्क’

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो सात महिना(२०८१/८२ साउन देखि माघ)सम्मको आर्थिक तथा वित्तीय स्थितिले नेपाली अर्थतन्त्रको चित्र बाहिर ठिक्क भित्र दिक्क भन्ने अवस्थामै रहेको देखाएको छ ।
विदेशी मुद्रा सञ्चति, वाह्य ब्यापार, रेमिट्यान्स आप्रवाह जस्ता अर्थतन्त्रको बाह्य क्षेत्रको सूचक सबल हुँदै गर्दा आन्तरिक अर्थतन्त्र बलियो बनाउने सूचकले अर्थतन्त्रको असन्तुलित चित्र प्रर्दशन गरिरहेको छन् ।
अगिल्लो सरकारका अर्थमन्त्रीदेखि हालका अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायत गभर्नर महाप्रसाद अधिकारीले यो अवस्थालाई सुधारको संकेतका रुपमा सधै व्याख्या गर्दै आएका छन् । तर आन्तरिक अर्थतन्त्रका उत्तोलक मानिने स्वदेशी उद्यमी, व्यवसायी तथा आम उपभोक्ता बर्ग भने अर्थतन्त्रमा सुधार देखिएको मन्ने अवस्थामा छैनन् । कर्जाको माग न्यून, आयात सुस्त, खस्कँदै गएको बजार मागले पनि यहि संकेत गरिरहेको छ ।
सात महिनामा मुलुकको चालु खाता एक खर्ब ६६ अर्ब ८० करोड रुपैयाँले बचतमा रहेको छ । शोधनान्तर स्थिति दुई खर्ब ८४ अर्ब रुपियाँले बचतमा देखिन्छ । मुलुक भित्रिने र बाहिरिने रकमको अन्तर देखाउने शोधनान्तर अवस्था डेढ वर्षयता निरन्तर बचतमा देखिन थालेको हो । मुलुकमा २१ खर्ब पाँच अर्ब रुपैयाँ को विदेशी मुद्रा सञ्चिति पुगेको छ । यो सञ्चितिले अहिलेको अवस्थामाअनुसार अनुसार १७ महिनाको वस्तु आयातका लागि पर्याप्त हुन्छ ।
मुलुकले वस्तु निर्यात गरेर एक खर्ब २७ अर्ब रुपैयाँ आम्दानी गरेको छ तर यो रकम नेपालीले विदेश भ्रमणमै सक्ने अवस्था छ । भ्रमणकै लागि नेपालीले एक खर्ब १६ अर्ब रुपियाँ खर्च गरेको तथ्याङ्कले देखाउँछ ।
राष्ट्र बैङ्कका अनुसार सात महिनामा रेमिट्यान्स आउने क्रम १९ प्रतिशतले बढेर नौ खर्ब ५८ करोड रुपियाँ पुगेको छ । तर हामीले यहि अवधिमा नौ खर्ब ८८ अर्ब पैयाँको बस्तु आयात पनि गरिरहेका छौ ।
आन्तरिक अर्थतन्त्र बलियो बनाउने भनेको आन्तरिक उद्यमशीलताको विस्तार हुनु अत्यावश्यक मानिन्छ । तर उद्यमशीलता तथा व्यापार व्यवसाय विस्तार गर्ने अवस्थामा स्वदेशी लगानीकर्ता देखिन्छन् । चर्को व्याजका कारण लगानीको वतावरण भएन भन्दै आएका लगानीकर्ता अहिले ऋण लिनै चाहिरहेका छैनन् । कर्जाको औषत ब्याजदर ४२ महिनाकै न्यून छ । निक्षेपकर्ताले पाउने ब्याज पछिल्लो ८ वर्षकै न्युन भएको देखिन्छ । यो अवस्था अनुसार त अहिले धमाधम कर्जा जाने र उद्यम व्यवसाय पैmलनु पर्ने हो । तर अवस्था शिथिल नै रहेको तथ्याङ्ले देखाउँदै छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शजस्ता संगठनले व्याजदर एकल अँकमा आएमा लगानी फैलन्छ भन्दै आएका थिए । तर कर्जाको औषत व्याज दर ८.५५ प्रतिशतमा ओर्लदा पनि कर्जा विस्तार धिमा छ ।
कुल आन्तरिक कर्जा खुम्चिएको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा ३.२ प्रतिशतले बढेकामा समीक्षा अवधिमा १.३ प्रतिशत मात्रले बढेको छ ।
समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप दुई खर्ब ४५ अर्ब ३४ करोड अर्थात् ३.८ प्रतिशतले बढेको छ । ८ वर्षकै न्यून ब्याजदरमा हुदाँ पनि निक्षेप बढ्दै जानुले लगानीको वतावरण नभएको स्पष्ट संकेत गरिरहेको छ ।
राष्ट्र बैङ्कको तथ्याङ्कले मुद्रास्फीति भने घटेको देखाउँछ । भाषामा महँगी दर भनिने मुद्रास्फीति ४.१६ प्रतिशत रहेको तथ्याङ्क छ । गत आवको सोही अवधिसम्म यस्तो दर ५.१ प्रतिशत थियो ।