नेपाल तत्काल विकासशीलमा स्तरोन्नति नहुने
काठमाडौँ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल अल्पविकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति तत्काल नहुने बताएका छन् । नेपाल आगामी नोभेम्बर २६ मा अल्पविकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति हुने निर्धारित कार्यतालिका रहेकामा नेपाली उद्योगी व्यवसायीले अहिलेको प्रतिकूल आर्थिक अवस्थामा स्तरोन्नति स्थगन हुनुपर्ने माग गर्दै आएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा पूर्वपदाधिकारीसँगको मङ्गलबारको भेटमा उनले नेपाल स्तरोन्नति भइहाल्छ कि भन्ने निजी क्षेत्रको पीरलाई आफूले बुझेको बताउँदै भने, “म यो तत्काल हुँदैन भन्ने मान्यता राख्छु ।”उनले नेपाल गरिखाने मान्छेको देश हो भन्ने चिनाउने गरी अर्थतन्त्रको विकास गर्ने पनि बताए ।
अर्थमन्त्री डा. वाग्लेले चेम्बरका पदाधिकारीलाई अर्थतन्त्र बलियो बनाउन हातेमालो गर्न आग्रह गरे । उनले भने, “देश बनाउने हुटहुटी बोकेर आएका छौँ । तपाईंहरूलाई उड्ने, फैलने सुविधा राज्यले दिन्छ ।”
अर्थतन्त्र बलियो बनाउन, मुलुकको सर्वाङ्गीण विकास गर्ने काममा सबै जना एक ठाउँमा उभिन तयार रहन उनले आग्रह गरे ।
उनले भने, “मैले पटक पटक भन्ने गरेको छु । निजी क्षेत्र इमानदार भइदिनूस् । राज्यले दिलोज्यान दिएर तपाईंहरूलाई सहयोग गर्छ । म त्यसको जिम्मा लिन्छु तर नियोजित र प्रायोजित गल्ती तथा बेइमानीमा भने हामी निर्मम हुन्छौँ ।”
उनले इमानदार उद्योगी, व्यापारी कानुनका कारण बदनाम बन्ने अवस्था आउन नदिन सरकारले काम गर्ने बताउँदै रोजगारी सिर्जना गर्नेले राज्यका कारण अब दुःख हैरानी नपाउने ग्यारेन्टी आफूले गर्ने वचन दिए ।