इतिहास रच्दै विद्युत् व्यापारमा त्रिदेशीय संझौता
काठमाडौः
नेपालको बिजुली भारतीय प्रशारणलाइन प्रयोग गरी बङ्गलादेश पु¥याउन नेपाल भारत र बँगलादेशबीच त्रिपक्षीय संझौतामा हस्ताक्षर भएको छ । दक्षिण एसियामै पहिलो तस्रो देशको विद्युत् व्यापार संझौताको उदाहरण बन्दै विहीबार त्रिदेशीय संझौता भएको हो ।
विहीबार राजधानीमा आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्र्डका अध्यक्ष मोहमद रिजाउल करिम र भारतको एनटीपिसि विद्युत् व्यापार निम (एनभिभिएन)का प्रमुख कार्यकारी अधिकृत रेणु नाराङले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार प्राधिकरणले २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलेमे जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्नेछ । संझौता अनुसार प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको १५ जुन देखि १५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत् बंगलादेशलाई बिक्री गर्नेछ ।
प्राधिकरणले बंगलादेश विद्युत बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट पाउने छ, जुन विक्री बिन्दु मानिएको मुजफ्फरपुरमा बिलिङ भए अनुसार प्राप्त हुनेछ । प्राधिकरण कार्यकारी निर्देशक घिसिङका अनुसार यो बाटा प्रतिवर्ष ९२ लाख अमेरिकी डलर आम्दानी हुनेछ ।
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुन यो विद्युत् ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ ।
मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएनले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु बंगलादेशले नै बेहोर्ने छ ।