‘एनइए एई साथी’ एप ल्याउदैँ विद्युत प्राधिकरण
काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले प्रविधिको विकाससँगै प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी रुपमा अघि बढाउने योजना अघि सारेको छ ।
प्राधिकरणले संस्थालाई प्रविधिमैत्री, सरल, सक्षम र भविष्य उन्मुख बनाउने दीर्घकालीन रणनीति अनुसार ‘एनइए एई साथी’ प्रणाली (एप) प्रयोगमा ल्याउने तयारी गरेको हो ।
कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिका रूपमा मात्र नभई संस्थागत साथीका रूपमा आत्मसाथ गर्ने नवीन अवधारणासहित ‘एनइए एई साथी’ प्रणाली (एप) प्रयोगमा ल्याउन लागेको प्राधिकरणले जानकारी दिएको छ ।
उक्त सोँचलाई व्यवहारमा उतार्ने उद्देश्यका साथ ‘ह्याकाथन इभेन्ट–२०८२’ गरेको पनि प्राधिकरणले जानकारी दिएको छ ।
‘एआईलाई जटिल र टाढाको प्रविधि होइन आवश्यक परेका बेला सम्झिने र सहयोग लिने साथी बनाउनुपर्छ भन्ने सोँचका साथ यो कार्यक्रम अघि बढाएका हौँ,’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भन्नुभयो, ‘एई साथी’ नाम आफैंमा एक आकर्षक र जनमैत्री अवधारणा हो । यसले प्रविधिलाई जटिल नभई आत्मीय, सहज र प्रयोगमैत्री रूपमा प्रस्तुत गर्ने लक्ष्य हामीले राखेका छौँ । संस्थाको ‘सहयोगी साथी’का रुपमा एई साथीले सेवाग्राही आवश्यक सेवामा सहयोग गर्ने छ ।’
उहाँले सेवाग्राहीले ‘एई साथी’ भनी बोलाउने र ग्राहकहरुलाई आवश्यक पर्ने विभिन्न जानकारी तथा सहयोगका लागि प्रयोग गर्ने संस्कार क्रमशः विकास हुँदै जाने विश्वास प्राधिकरणले लिएको पनि जानकारी दिनुभयो । एआईलाई केवल प्रविधि नभई सहकार्य गर्ने साथीका रूपमा स्थापित गर्ने दीर्घकालीन सोँचका साथ यो अवधारणामा समेटिएको प्राधिकरणले जानकारी दिएको छ ।
एआईलाई संस्थागत रूपमा आत्मसाथ गर्ने उद्देश्यले सुरु गरिएको ‘ह्याकाथन’ मा संस्थाभित्रकै कर्मचारीहरूबाट २७ वटा प्रस्तावका विषयमा प्रस्तुत भएको र ती प्रस्तावहरू ग्राहक सेवा सुधार, प्रशासनिक कार्यप्रवाह सरलीकरण, डेटा विश्लेषण, नीतिगत तथा कानुनी सहजीकरण लगायतका विषयमा केन्द्रित रहेको प्राधिकरणले जानकारी दिएको छ ।